अच्युतप्रसाद पौडेल ‘चिन्तन’

बाल अधिकारका विषयमा हामी धेरै कुरा गर्छौँ, तर वास्तविकता फरक भइरहेको छ। अहिलेको शिक्षा प्रणालीमा व्यापक रुपमा परिमार्जन गरिनु पर्छ। इमान्दारिता, नीति, नैतिकता, संस्कृतका मूल आदर्शहरु हाल बालबालिकाप्रति त्यति भए जस्तो लाग्दैन। आजको खानपीन, बसउठ र मोबाइलप्रतिको बढी लालसाले बालबालिकाहरुले पुस्तकप्रति त्यति ध्यान दिन सकेको देखिन्न। पाठ्यक्रम पढ्नुपर्छ तर अतिरिक्त कार्यहरु पनि गर्नुपर्छ। हामीलाई अग्रज गुरुहरुले सिकाए, पढाए तर पाठ्यक्रम मात्र होइन त्यसलाई आधार बनाएर कैयन दृष्टान्तहरु दिएर हाम्रो मस्तिष्कमा बेग्लै छाप छोडे, जसको गुणगान जति गरे पनि कमै हुन्छ। पहिलो विषय विहान ब्रह्म मूहुर्तमा ओछ्यान छोड्नुपर्छ, भूमि स्पर्शअघि माता, पिता, गुरु, ईश्वरप्रति नतमस्तक हुन जरुरी छ, हत्केलामा देव भाव र सबै लक्ष्मी कर्म भाव बसेको हुँदा सर्वप्रथम हत्केलाको दर्शन, घर्षण, सूर्यप्रति सद्भाव, नमन गर्दै “मेरो आजको दिन भव्य र सभ्य रहोस्” भन्दै सके गणेश, सरस्वती, हनुमान वा आफ्ना कुलदेव, पितृदेव, इष्टदेव प्रति स्मरण गर्नुपर्छ। शौच कर्म गरेर हात-मुख शुद्ध आदि गरेर केहीबेर भए पनि शारीरिक अभ्यास, शरिर निर्माण, काम गर्नसक्ने शक्ति अर्थात् स्टेमिना मजबूत पार्ने कार्य गर्नुपर्छ। सकुन्जेल आफ्नो काम आफै गर्ने, भित्री बस्त्रहरु आफै सफा गर्ने, दैनिक दुईपल्ट (खाना खाइसकेपछि) दाँत ब्रस गर्ने, जे पायो त्यही नखाने, हाल बजारमा पाइने नानाथरी विषयतिर आकर्षित नहुने, बढी नून भएका, बट्टाबन्दी खाद्यवस्तु, कुरमुरे, चट्पटे, अधिक मैदा, विस्कुटहरुले बालबालिका मात्रै होइन कुनै पनि उमेर समूहलाई राम्रो गर्दैन, धुम्रपान त निषेध नै हो। केटाकेटीहरुले अभिभावकले दिए पनि ज्यादा खर्च गर्नहुन्न, मदिरा, दूर्व्यसनी, कुलततिर फस्नुहुन्न। आफ्ना परिवार, इष्टमित्रप्रति कृतज्ञता, सहृदयता, स्नेहको भाव राख्ने गर्नुपर्छ।

हप्तामा एक दिन नै भए पनि पूजा, पाठमा, स्वाध्याय, विशेष सत्संगमा लाग्नुपर्छ। बालबालिकाका लागि अधिक खाना, अधिक निद्रा राम्रो हुन्न। खेलकूदतिर, अक्षर राम्रो पार्नेतिर, हरेक विषयमा जिज्ञासु हुनेतिर ध्यान दिनुपर्छ। साँझ घरमा बत्ति बाल्ने, सकेसँगै आरती गर्ने, आफ्नो मन-मस्तिष्कलाई ताजा राख्ने काम गर्नुपर्छ। तामाको भाँडाकुँडाहरु, पूजासामानको स्पर्शले तनावरहित भइन्छ, शरीर, रक्त सञ्चार राम्रो हुन्छ, सकारात्मक ऊर्जा प्राप्त हुन्छ। खाजा पनि सकेसम्म घरमै बनेको खाने गर्नुपर्छ, सफा सुग्घरी हुने, कपडाहरु आफैँ मिलाएर लगाउने, सकेसम्म भान्छामा सहयोग पनि गर्ने, कहिलेकाहीँ आफू मात्रै भएका बेला भोकै बस्न सकिने हुँदा खाना पकाउन सिक्ने, हल्का बजार गएर खरिद गर्न पनि सिक्ने, बजार गर्दा दुईपैसा भए पनि बचत गर्न सिक्ने, अभिभावकलाई साह्रै भार नपार्ने, सक्ने काम आफैले खोजेर गर्ने गर्नुपर्छ, विदाको दिन धेरैबेर सुतिरहनु राम्रो हुन्न, नयाँ नयाँ पुस्तकहरु, मोबाइलमै पनि राम्रा कुराहरु खोजेर हेर्न सकिन्छ, तर मोबाइलको ज्यादै भर गर्दा आँखालाई स्क्रीनको खराब प्रकाशको भार पर्छ, नसाको समस्या, ब्रेन, मुटुको समस्या, गर्धन, घाँटी, हातको समस्या हुनसक्छ। अतः हरेक विषयको आफ्नो सीमिततालाई ख्याल गर्नुपर्छ, यस विषयमा अभिभावकहरुले पनि चनाखो हुनुपर्ने र गराउनुपर्ने हुन्छ।

हिजोआज हजुरआमाले नातीनातिनीहरुलाई मोबाइल दिएर मात्रै खाना खुवाइदिने बानी परेको देख्दा अचम्म लाग्छ, जसले गर्दा स्वास्थ्यमा हानी गर्छ दीर्घकालसम्म। बालमनोविज्ञान बुझेर अभिभावकहरुले काम गर्नुपर्छ, झर्कोफर्को गर्नहुन्न, सम्झाएर र कथा कुथुंग्रीहरु सुनाएर उनीहरुको बाल मस्तिष्कलाई प्रेरित गर्नुपर्छ। हौसला ठूलो कुरो हो, धन्यवाद पनि ठूलो हो। बालबालिकाहरुसँगै राखेर आफू खराव काम गर्ने, मदिरा, कुलत, तास, जुवामा रहने, झगडा गर्ने अनि बच्चाहरुलाई भने यसो नगर है भन्दा उनीहरुलाई त्यो चित्त बुझ्दैन। अतः परिवार पहिलो पाठशाला हो। अचेल विद्यालयमा विद्याभन्दा वस्तु बढी बिक्री हुने हुँदा सबै शिक्षा, दीक्षा विद्यालयबाटै हुन्छ भनेर अभिभावकहरु आफू बालबालिकाबाट टाढिनु राम्रो होइन, केही समय फुर्सद निकालेर उसले आफ्नो कर्तव्य राम्रो निर्वाह गरेको छ कि छैन हेर्नुपर्छ, अधिक खर्च उपलव्ध गराउँदा बानी त्यही पर्छ र धान्न पनि गाह्रो पर्छ। हामी बूढा भयौँ, हामीलाई अभिभावकहरुले पैसा दिन्नथे र पनि हामी ठूला भयौँ, धेरै पढ्यौँ, अरुलाई पढाउन पनि सक्यौँ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *