अच्युतप्रसाद पौडेल ‘चिन्तन’

वागीश्वरीको अर्थ हुन्छ नवदुर्गाहरूमध्ये एक देवी, विद्या र वाणीकी अधिष्ठात्री देवी अर्थात् सरस्वती। कुनै पनि शिशु बाल्यकालमा प्रवेश गरेपछि उसले मुखबाट बाबा, मामा, पापा जस्ता आवाज बोल्नथाल्छ। जिब्रो, तालु र ओठको चालबाट उसले अरुअरु आवाज पनि बोल्नथाल्छ। त्यो बोली नै उसको पहिलो वाक क्षमता हुनजान्छ र पछिपछि अभिभावकले बोलेका अक्षर अनि शब्दहरू बोल्नथाल्छ। बोल्ने क्षमता वा वाक क्षमताको पहिलो पाठशाला नै घरपरिवार हो भने उसका लागि अभिभावक पहिलो गुरु हुन्। बालकले सबैभन्दा धेरै शब्दहरु आफ्नो आमाबाट नै सिक्दछ। यहाँ विशेषगरी ॐ अक्षरका बारेमा वर्णन गर्ने जमर्को गरिएको छ। जुनसुकै मन्त्रहरुका लागि सबैभन्दा पहिले ॐ को आवश्यकता पर्दछ।

अक्षर आरम्भमा पहिले ॐ नमो वागीश्वरायः भन्ने गरिन्छ । सरस्वतीको प्रार्थना बिना लेखापढी शुरु गरिन्न। प्रणव मन्त्र ॐ को एक अक्षरमा तीन अक्षर अ, ऊ, म रहेको छ। ॐको ‘अ’ कारले जगतको बीजस्वरुप ब्रह्माको बोध हुन्छ। यसको ‘ऊ’कारले कारणस्वरुप श्रीहरिको र ‘म’कारले नीललोहित शिवको बोध हुन्छ । ‘अ’ कार सृष्टिकर्ता हो, ‘ऊ’ कार मोह हो र ‘म’ कार चाहिँ अनुग्रह हो। बीजका स्वामी ‘म’कार, बीज ‘अ’कार र ‘ऊ’कार योनि हो। अ, ऊ, म को माथिको चन्द्राकार शक्तिस्वरुपा ‘ई’ हो । ‘पूं’र प्रकृतिको योग संसारको रचना हो। महेश्वर ‘बिजी’, ‘बीज’र ‘योनि’पनि हो, यसलाई ‘नाद’भनियो। ‘बिजी’भगवान् महेश्वरको लिङ्गबाट अकार रुप ‘बीज’प्रकट भयो। ‘अ’कार रुप ‘बीज’‘ऊ’कार रुप ‘योनि’मा प्रस्फुट भयो। यो ‘बीज’ अब सुवर्णमय अण्डको रुपमा देखियो। दिव्य वर्षौँतक यो अण्ड जलमा रहँदा दिव्य एक हजार वर्ष पूरा भयो। अण्डा दुई टुक्रा भएर फुट्यो। जलमा रहेको त्यो अण्ड अजन्मा ब्रह्माजीको उत्पत्ति स्थान भयो। माथिल्लो भाग सुवर्णमय अण्डामा कपाल थियो त्यो देवलोक भयो। कपालयुक्त तल्लो भाग पृथ्वी भयो। त्यही अण्डबाट सारा सृष्टि, स्थिति र पालना एवं संहार हुने भयो। ‘अ’, ‘ऊ’, ‘म’ तीन अक्षर मिलेर चन्द्राकार सहित पूर्ण अक्षर ॐ भयो । ॐबाट प्रणव गायत्री मन्त्रहरु र वेदहरुको बिस्तारै प्रकट भए।

जगतको रचना क्रममा परमेश्वरबाट दायाँ बायाँ अङ्गबाट क्रमशः स्वयम्भू, मनु, पुरुष र शतरुपा स्त्री पैदा भइन्। मनुका सन्तान हामी मानव भयौं, दनुका सन्तान दानवहरु भए। संसार अग्लो, होचो नमिलेको देखियो। खण्ड खण्ड सबै मिलाएर पूर्णता दिने क्रममा परमेश्वरले पछि पृथु अवतार लिए। पृथु अवतार लिएर जमिनका खण्डहरु मिलाइएको कारणले धर्तीलाई पृथ्वी भनियो। सबैतिर समथर भने गराउन सकिएन, अहिले पनि धर्तीमा अग्लाइ होचाइ फरकफरक देखिएका छन्। त्यसबेला अहिले जस्तो राजनैतिक देश विभाजन, फरक नाम, फरक परिवेश थिएन। संसार केवल एउटै थियो। त्यस धर्तीमा अध्यात्म विज्ञानले एक छत्र विजय पाएको थियो। हाल भौतिक विज्ञानले अन्धाधुन्द प्रतिस्पर्धी विजय प्राप्त गरेको छ।

हाल अरबौँ बढी मानिसले बसोबास गर्ने यस पृथ्वीका अतिरिक्त अर्को ब्रह्माण्ड पनि, अर्को परिवेश पनि छ कि भनेर भौतिक विज्ञानले खोजी कार्य गर्न लागेको छ। वैदिक विज्ञानले हामीले नदेखेका धेरै अरु ब्रह्माण्ड छन् भनेको छ। पूर्वीय दर्शनको विशिष्ट भगवानको वाणी चार वेदमध्ये अथर्व वेदले भौतिक विज्ञानको खोजी र सङ्केत गरेको छ। अथर्व वेदको स्थापत्यवेद र त्यसको वास्तु पद्धति पञ्चतत्वका विषयवस्तुको अध्ययन र व्यवस्थापन हो। वास्तु पद्धति अनुसार जीवन सञ्चालन हुन नसक्ने परिस्थिति, परिवेश, परिघटना, परिदृश्यमा आफ्नो मन्त्रशक्तिमा ॐ को प्रयोग, हरेक बिहानी ॐ को उच्चारण, मङ्गल सूचक ॐ को दृश्य चित्र, घर, मन्दिर, पूजा स्थलदेखि मङ्गल सूचक हरेक क्षेत्र झ्याल, ढोका, कारखाना, हल, मल, बाहन, उद्यान, सडकमा ॐ को सङ्केत दिने परम्पराको थालनी भएको हो। व्यक्तिले प्रत्येक श्वासप्रश्वासमा दैनिक २१ हजार ६०० पटक ॐ को उच्चारण गर्दै ‘हंस’नामक अजपा गायत्री मन्त्र जपिरहेको हुन्छ। हिजोआज त गुप्त जप्नुपर्ने गायत्री मन्त्र खुल्ला रुपमा सङ्गीतबद्ध तरिकाले जप्ने, सुन्ने चलन आएको छ। व्यक्ति स्वयंलाई अजपा गायत्रीको मन्त्र जपिरहेको भान आफैँलाई हुँदैन। त्यसैले यो निस्प्रयोजन भएको छ। मानिस जन्मदा कोहं (क्वाहाँ) गर्छ भने विदा हुँदा सोहं (स्वाहाँ, स्याँ, स्याँ) गर्छ। 

ब्रह्माण्डको मूल ऊर्जा स्वरुप ॐ नै हो। यसैबाट संसारका लागि आवश्यक ऊर्जा प्राप्त छ। सकारात्मक ऊर्जा प्राप्त गर्न, गृहस्थारम्भ गर्ने बिहेवारी होस्, सवारी साधन सजाउँदा होस्, घर बनाउँदा होस्, व्यापारिक कार्यमा होस् वा कुनै नयाँ साइत गर्दा समेत मङ्गल सूचक ॐ को दृश्य सजाएको देखिन्छ। ॐ को चिह्न, घरको ढोकाहरुमा ॐ को प्रतीक, ठूला सभाहरुमा ॐ को चिह्नदेखि विशिष्ट योग साधना, शिक्षण, प्रशिक्षण, कार्यशाला, व्यायामशाला, घर, मल, स्टलहरुमा ॐ को ब्रह्माण्डीय प्रतीक यसको चिह्न राखेको पाइन्छ। शास्वत नाम ॐ एकमात्र सुरु र अन्त्यको सङ्केत पनि हो। पूर्वीय दर्शनमा, ॐ कार परिवारमा हिन्दु, बुद्ध, शिक्ख र जैन धर्मावलम्बीहरु पर्दछन्, तर ॐ साह्रा ब्रह्माण्डमय जगतको बीजरुप भएकाले एक ब्रह्म बीजबाट अनन्त सिर्जना हुने भएकोले इस्लाम धर्मावलम्वीहरुले ॐ लाई अमिन भन्ने गर्दछन्, ईसाईहरुले ॐ लाई अमेन भन्ने गर्छन्, बुद्धिष्टहरुले ॐ लाई ‘मणिपद्मे हुँ’भन्छन्, जैनमार्गीहरुले ‘पद्म बीज अक्षर’ भन्छन्, शिखहरुले ‘एक शतनाम’ भन्ने गर्छन्। ॐ शब्द नाद भएकाले चराहरुको आवाजदेखि नदी तरङ्ग, झर्ना स्वर र समस्त वायुमण्डलीय ऊर्जा स्रोत भएकाले पृथ्वीवासीदेखि अन्तरिक्षसम्मका लागि ॐ सबैको साझा विषय हो। आकाश सबैको चौतारी भएकाले यसलाई वेदले ‘ॐ खं ब्रह्म’ भनेको छ।  नासाले संस्कृत शव्द यसकारण रुचाएको हो कि उसले प्रक्षेपण गरेका शव्दावलीहरुलाई आकाशीय पिण्डहरुले लिएका छन्, डेटाहरु लिन सजिलो भएको छ अनुसन्धानका लागि।

हरेक दिन विहानै हामीले ॐ उच्चारण गर्दै लामो श्वासप्रश्वास गर्दा शरिरका तमाम खरावीहरु निश्काशन हुन्छन्, शरिरमा भएका मयलहरु बाहिर आउँछन्। चिसो बढेसँगै विहान अचेल बाहिर निस्कन त्यति सहज छैन र रोगीहरुले त हुन्न नै। ओम उच्चारण गर्दै लामो सास तान्ने छोड्ने गर्दा मस्तिष्कमा पर्याप्त अक्सिजन पुग्छ, ब्रेन स्ट्रोकको डर हुन्न, मिर्गौला, मुटु स्वच्छ हुन्छ। प्याङ्क्रियाजले इन्सुलिन राम्रो दिन थाल्छ, शरिरमा बोसो कम भई गुड कोलोस्टोरल बढ्ने र खराव कोलोस्टोरल घट्ने हुन्छ। श्वास विज्ञानमा लयमा रहेर विहान खालि पेटमा योगाभ्यास घर, कोठामै गर्न सकिन्छ, पर्याप्त हावा आपूर्ति हुने स्थानमा । निरोगी शरिर सबैका लागि राम्रो हुन्छ, नत्र सबैलाई भार मात्र।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *