नवीन पल्लव । काठमाडौँ
ॐ समाज डेन्टल अस्पताल र रोल्पाली चेली फाउन्डेसनको सहकार्यमा ‘सडकदेखि सदनसम्म अभियान’ अन्तर्गत काठमाडौँको माछापोखरीमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर हालै सम्पन्न गरेको छ।
स्थानीय जनताको शारीरिक स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त शिविरमा दन्त स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको थियो । शिविरमा बोल्दै अस्पतालका अध्यक्ष एवं वरिष्ठ ओरल–म्याक्जिलोफेसियल सर्जन डा. सुवास घिमिरेले “मुख स्वास्थ्य जीवनको ढोका हो” भन्दै सर्वसाधारणको स्वास्थ्य आचरणमा सुधार ल्याउन यस्ता शिविरहरू आवश्यक रहेको बताए। ग्रामीण तथा पिछडिएका बस्तीहरूमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएका डा. घिमिरेले ॐ समाज अस्पताल समाजकै सम्पत्ति भएको उल्लेख गरे। उनले नागरिकले आफ्नो अवस्थाअनुसार सशुल्क, न्यून शुल्क वा निःशुल्क विधिबाट उपचार सेवा लिन सक्ने जानकारी दिए । उनले नेपालमा दन्त तथा मुख–अनुहार स्वास्थ्य सेवालाई आधुनिक र प्रभावकारी बनाउन उपलब्ध स्रोत-साधनको उच्चतम प्रयोग गरिनुपर्नेमा जोड दिए।

रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमकला (यमुना) केसी सुनसरी क्षेत्र नम्बर ४ बाट आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दैछिन्। सोही सन्दर्भमा उनको चुनावी सफलताको शुभकामनासहित यो शिविर आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आफू लामो समयदेखि समाजसेवामा सक्रिय रहेको र सुनसरीका जनताको जीवनस्तर उकास्न राजनीतिमा होमिएको बताइन्। उनले भनिन्, “मैले शब्दमा भन्दा पनि परिणाम देखिने गरी कार्य गर्ने उद्देश्यले उम्मेदवारी दिएकी हुँ।” उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो चुनाव चिह्न ‘मुसा’ मा मतदान गरी विजयी गराउन सुनसरीका मतदातासँग अपिलसहित सबैको सहयोगको अपेक्षा गरिन्। सो अवसरमा डा. घिमिरेले केसीलाई दुबोको माला र सगुन खुवाएर चुनावी सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा समाजोपयोगी भूमिका निर्वाह गर्ने विभिन्न पत्रकार तथा कलाकारहरूलाई सम्मानित गरियो। सम्मानित हुनेहरूमा टपटेन खबरका सम्पादक नन्दलाल खरेल, सारा खबरका डिबी पराजुली, ग्लोबलपानाकी अमि कट्टेल, जानुका अधिकारी, गङ्गाप्रसाद भेटवाल, माधव घिमिरे ‘अटल’, जयराम बिडारी, नवीन पल्लव, सानुकाजी थापा, लीला खनाल, अरविन्द गौतम, सावित्री बस्नेत ‘सबु’ र सनत कुमार बस्नेत रहेका छन्।
पत्रकार तथा सामाजिक अभियन्ता राजन थापाको सक्रियतामा बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको उक्त शिविरबाट करिब ३०० सर्वसाधारणले प्रत्यक्ष लाभ लिएका थिए। थापाले अस्पतालको चौघेराभित्र मात्र सीमित स्वास्थ्य सेवाले बृहत्तर जनसेवा गर्न नसक्ने भएकाले शिविरमार्फत समुदायसम्म पुग्ने योजना बनाइएको बताए। निःशुल्क र गुणस्तरीय सेवा पाएपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन्।