अमर अधिकारी/काठमाडौं।
ज्योति साहित्य प्रतिष्ठान, काठमाडौंको १९ औं वार्षिकोत्सव सम्पन्न भएको छ। काठमाडौंको अनामनगरमा सम्पन्न वार्षिकोत्सव समारोहका प्रमुख अतिथि विश्वकवि, संस्कृतिविद प्रा.डा. तुलसी दिवस हुनुहुन्थ्यो भने विशिष्ठ अतिथिहरूमा उषा शेरचन, शिखर कवि शैलेन्द्र साकार, पुस्करलोहनी हुनुहुन्थ्यो।
समारोहमा विभिन्न स्रष्टाहरूलाई सम्मान पनि गरिएको थियो भने समारोहमा राकेश कुमार झा ‘रसिक’ को ‘म पनि लेख्नसक्छु’ कवितासङ्ग्रह लोकार्पण गरिएको थियो। सम्मानित हुनेहरूमा ज्ञान उदास, उषा शेरचन, ध्रुब मधिकर्मी, सीता पाण्डे, निलम कार्की निहारिका, इल्या भट्टराई, श्याम श्रेष्ठ, बालसंस्कार डटकमका लागि सर्जकद्वय कल्पना मरासिनी र राजेशमान केसी समेत हुनुहुन्थ्यो। सहभागीहरूमध्ये केहीले आआफ्ना सिर्जना वाचन गरेका थिए। लोकार्पित कृतिका सर्जक राकेश झाकी सुपुत्री हिमानी झाले बुवाको एक कविता र आफ्नो एक कविता वाचन गरेकी थिइन्।
ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा भएको सो समारोह उषा आचार्यले सञ्चालन गर्नुभएको थियो।