अञ्जु चालिसे (रुपाञ्जलि)

कक्षा चारमा पढ्ने मिलन नामको एउटा केटो थियो। ऊ पढाइमा त ठीकै थियो, तर बहानामा भने ‘महान कलाकार’ थियो। एकदिन बिहानै उसले आमालाई भन्यो, “आमा, आज त मेरो पेट एकदम दुख्यो, म स्कूल जान सक्दिनँ होला।” आमा डराइन्। “के भयो छोरा? के खायौ ?” मिलनले पेट समातेर लामो सास फेर्‍यो, “सायद हिजोको चाउचाउले हो…” आमा चिन्तित भएर उसलाई ओछ्यानमै राखिन्, तातो पानी दिइन्, र स्कूल नपठाउने निर्णय गरिन्। तर त्यही दिन स्कूलमा ‘आश्चर्यजनक परीक्षा’ रहेछ। मिलनका साथीहरू परीक्षा दिइरहेका थिए, र ऊ घरमै आराम गर्दै बिरामीको बहानामा खुसी भएर सुतिरहेको थियो। दिउँसो अचानक उसको मिल्ने साथी सागर आएर ढोका ढकढक्यायो। “मिलन ! तिमीले आज विद्यालय नआएर ठूलो गल्ती गर्‍यौ!” मिलन झस्कियो। “किन ? के भयो ?” सागर हाँस्दै भन्यो, “परीक्षामा तिमीलाई सजिलो प्रश्न आएको थियो—‘तिम्रो मनपर्ने खाना के हो ?’ सबैले लेखे, तर तिमी त स्कूल नै गएका छैनौ !” मिलनको अनुहार रातो भयो। उसले पेट समात्ने अभिनय तुरुन्तै छोड्यो। त्यही बेला आमा भान्साबाट आउँदै भनिन्, “पेट दुखेको मान्छेले चिप्स किन खाइरहेको छ ?” मिलन झन् झस्कियो। उसको हातमा चिप्सको प्याकेट थियो ! आमाले मुस्कुराउँदै भनिन्, “ए, पेट दुखेको होइन रहेछ, परीक्षा देखेर डर पो लागेको रहेछ !” मिलनले टाउको निहुराएर भन्यो, “आमा… मबाट गल्ती भयो… अबदेखि म झूट बोल्दिनँ।” अर्को दिन ऊ स्कूल गयो। साथीहरूले जिस्क्याएनन्, बरु हाँस्दै भने, “हिजोको ‘बिरामी’ आज ठीक भइसक्यो?” मिलन पनि हाँस्यो, “मेरो पेट होइन, बहाना नै बिरामी भएको रहेछ !” त्यसपछि कक्षामा सबैले उसलाई नयाँ नाम दिए, ‘डाक्टर अफ इक्सक्युज।’ त्यो दिनपछि मिलनले झूट बोल्नुअघि तीनपटक सोच्नथाल्यो, किनकि अब उसलाई थाहा थियो, उसका बहानाभन्दा छिटो उसको सत्य बाहिर आउँछ।

विजय-लक्ष्मी निवास रमेश विकल प्रतिष्ठान मार्ग आरुबारी

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *