-खेमराज शर्मा
रोल्पा जिल्लाको सुनिलस्मृति गा.पा. वडा नं १ घोडागाउँको समथर मुख्य बस्तीको दक्षिण छेउँतिर केही भिराला पाखामा बाक्लो दलित बस्ती छ। यसै बस्तीको अगाडितिर केही तल निरन्तर बगिरहेको छ, घोरखोला। उक्त खोलाको वरिपरी उर्बर खेतका फाँटहरू छन्। यसै घोरखोला प्यूठान र रोल्पा जिल्लाको दुबैतर्फका केही भागको सीमा बनेर रहेको छ। यसै घोरखोलाको दक्षिण भेगतिर माथि घना वनजङ्गल छ र जङ्गलकै बीचमा केस्पुर, कीटधारा, हाम्जा र मालारानी जस्ता सुन्दर र उर्बर जमिन रहेको गाउँ बस्तीहरू छन्। तिनै बस्तीको पारी पूर्वतिर अग्लो पहाड गजक्क परेर बसेको छ, स्वर्गद्वारी लेक। यो नेपालकै एक प्रसिद्ध पर्यटकीय, धार्मिक र साँस्कृतिक धरोहर हो। यसै घोरखोलाको उत्तरतर्फको चटक्क मिलेर बसेको थुम्किलो डाँडामाथि अबस्थित बाक्लो बस्ती नै घोडागाउँको दलिलहरूको टोल हो। भिराला थुम्का र पाखाबारीका बीचमा चेतना, गरिबी र अभावले निचोरिएका स(साना घरहरू छन्। तल घोरखोलाको छेउँमा विशाल धानखेतको फाँटमाथि जङ्गलको पुछारमा माँगेर अनि माछा मारेर गुजारा चलाउने गन्धर्वहरूको एउटा सानो बस्ती पनि छ ।
त्यही घोडागाउँको दलित बस्तीभित्र अलिकति अग्लो र खेतीपाती हुने भिराला पाटा र घर भएको थुम्को अर्थात टाकुरो छ, जसलाई कुमाल टाकुरो भनिन्छ ।
धेरै वर्षपहिले माटाका भाँडा बनाउने एकजना कुमाल यही टाकुरामा आएर आफ्नो व्यवसाय गरेर बसेछन्। यहीँ उनले घरव्यवहारमा प्रयोगमा आउने विभिन्न किसिमका माटाका भाँडाहरू बनाएछन्। यस टाकुराको माटो निकै लेसिलो र सुकेपछि बलियो हुने भएकोले सुरुसुरुमा त व्यवसाय पनि राम्रोसँग चलेछ। निकै सुन्दर र बलिया माटाका भाँडाको कारोबार पनि टाढाटाढासम्म फैलेछ। तर के भैदियो भने धेरै पछिसम्म पनि उनीबाट भाँडा किन्ने किसानहरू फेरि फर्केर आएनछन्। भाँडा नराम्रा भएर होइन, कुमालेको व्यवहार नमिठो भएर पनि होइन। उनले बनाएका भाँडा निकै बलिया र फुट्दै नफुट्ने भएर। केहीवर्ष चलाएपछि भाँडा फुटे पो किसानले फेरि किन्ने हो र व्यवसाय चल्ने हो। आफूले बनाएका माटाका भाँडाकुँडाको कारोबार ठप्प भएपछि व्यवसायी कुमाले निकै दिग्दार भएछन्।
एकदिन विहान घाम झुल्केपछि कुमालेले चारवटा घैंटा हातमा लिएछन्। त्यही टाकुराबाट दुईवटा उता घोरखोलातिर हुत्ताएर गुडाएछन्। फेरि दुईवटा यता घोडागाउँको मुख्य बस्तीतिर त्यसैगरी गुडाएछन्। दुबैतिर घैंटा फुट्दै नफुटेर तलै पुगेछन्। उनी आफूले पल्टाएर फालेका घैंटा हेर्न भनी गएको त फुट्दै नफुटेर सग्लो भेटेछन्। त्यसपछि ती कुमाले आफ्नो व्यवसायस्थलमा पुगेर बनाएका सबै भाँडा जम्मा गरेर रिसाएर फरुवा अर्थात् चाँदेले हिर्काएर टुक्राटुक्रा पारेछन्। अनि आफ्ना निर्माण सामग्री बोकेर अन्यत्र बसाइँ सरेछन्। त्यसपछि त्यस टाकुराको नाम कुमालटाकुरा भएको रहेछ ।
त्यही कुमालटाकुराको केही तल नेटामा एउटा बडेमानको बरको रुख थियो। रुख डाँडाभरी फैलिएको थियो लामालामा जरा र हाँगाले। पानी पर्दासमेत बरको रुखको फेदमा ओत लागेर बच्न सकिन्थ्यो। युवायुवतीहरू त्यस रुखमा चढेर सुरिलो लयमा गीत गाउँदा पारीको जङ्गलमा ग्वालाबछेला अर्थात् गोठाला गएका मान्छे खुसीले चिच्याउँथे। त्यस विशाल वटवृक्षको अगाडि दुईवटा मानव निर्मित ठुला पोखरी पनि थिए। एउटा पोखरीको पानी घरायसी काममा प्रयोग हुन्थ्यो भने अर्को पोखरीको पानी गाई(बाख्राले खाने गर्थे र भैंसी आहाल बस्थे। बरको रुख नजिक केही सानो पीपलको रुख पनि थियो।
गर्मीयाममा किसान र बटुवाहरू शीतल हावा खाँदै आनन्दले निदाउँथे। बरनेटा आसपासमा चरिचरणका लागि खाली ठाउँ थियो। त्यसैले बरनेटा घर(खेत, वनपात गर्ने मानिसहरू र बटुवाहरूका लागि विश्रामस्थल थियो साथै पशुहरूका लागि चरणस्थल थियो। त्यतिमात्र नभएर बरनेटा कचहरी ९वैठक० बस्ने उपयुक्त ठाउँ पनि थियो। न्यायनिसाफका लागि होस् वा ग्रामीण विकासका लागि सरसल्लाह गर्नलाई यही नेटामा भेला हुन्थे गाउँलेहरू।
गाउँले भलाद्मीहरूले नियाँनिसाफ गर्दा अभियुक्तले सत्य कुरा लुकाएमा पारीतिर खडा स्वर्गद्वारी लेकलाई साक्षी राखेर वर पीपलको रुख छुन लगाइन्यो। सयौँ वर्ष साक्षी बनेर खडा त्यो पुरानो रुख बुढो भएर मात्र होइन त्यसको जतन नगरेर, घाँस काटेर, जरा काटेर जीर्ण भएको थियो। रुखलाई पनि बच्नका लागि प्रेम र स्याहार चाहिन्छ। तबमात्र रुखले मानिसलाई सुख दिने न हो।
साना बच्चाहरूलाई मुख्य बस्तीमा रहेको विद्यालयमा पढ्न जान केही टाढा भएकोले दलित बस्तीका बच्चा दिनभरि धुलो माटोमा खोपी खेलेर दिन बिताउँथे। घोडागाउँका पढेलेखेका केही दलित युवाहरू र सामाजिक अगुवाहरूको प्रयासले विद्यालयको पहुँचबाट टाढा रहनगएका त्यस ठाउँ गाउँका बिचमा पर्ने र सबको पायक पर्ने हुनाले त्यही बरनेटामा विद्यालय खोल्ने सल्लाह भयो। त्यस ठाउँमा २०६५ सालमा केही चन्दा उठाएर केही बेतलबी पढाएर एउटा छाप्रो बनाएर विद्यालय सन्चालन गरियो निजीस्रोतमा ।
केहीपछि गाउँको पुरानो ईतिहास बोकेको त्यस बरको पुरानो र जीर्ण रुखलाई हटाएर त्यसै ठाउँमा नयाँ इतिहास निर्माण गरियो, सामान्य खालको विद्यालय भवन बनाएर। त्यसै बरनेटामा स्थापना गरिएको जनएकता प्राथमिक विद्यालको विषयमा यस लेखमा चर्चा गर्ने प्रयास गरिएको छ।
२०६५ सालमा एक कक्षाबाट सन्चालन भएको त्यस विद्यालय क्रमशस् पाँच कक्षासम्म सन्चालन भयो, पूर्ण जनसहयोगमा। पछि चार र पाँच कक्षा हटाएर तीन कक्षासम्म मात्र सन्चालन गरियो। सबैभन्दा रोचक विषय त के छ भने हालसम्म त्यस विद्यालयमा पढ्ने सबै विद्यार्थी दलित मात्र छन्। बस्ती नै दलितको भएकोले एकजना पनि गैरदलित विद्यार्थी छैनन् त्यहाँ। हालसम्म त्यस विद्यालयमा सबै विद्यालय व्यवस्थापन समिति तथा शि। अ। सङ्घका पदाधिकारी दलित नै छन्। संस्थापक शिक्षक तुल्सी सुनार र संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत नेपाली रहेको त्यस विद्यालयमा हाल एकजना मात्र सरकारी दरबन्दीका गैरदलित महिला प्रधानाध्यापक हुनुहुन्छ। गाउँपालिकाको अनुदानबाट एकजना, बा वि के शिक्षक एकजना र विद्यालय सहयोगी एकजना दलित सहित चारजना शिक्षक कर्मचारी कार्यरत हुनुहुनछ ।
विद्यालयमा खानेपानीको नियमित र उचित प्रबन्ध छ, बच्चाहरू बस्नलाई फर्निचर र कार्पेट छ। विद्लयमा इन्टरनेटको व्यवस्था छ। समयमा नियमानुसार विद्यालय सन्चालन भइआएको पनि छ। कक्षा तीनसम्म पैतालीसजना विद्यार्थी रहेको पाइयो ।
समाज नै न्यून चेतना र गरिवीले पिल्सिएको हुनाले गन्धर्व बस्तीबाट आउने बच्चाहरू त्यति नियमित नहुने गरेको, कहिले भने भोकै आउने भएकाले शिक्षकहरूले आफ्नै खल्तीबाट चिउरा किनेर समेत खुवाउने गरेको विषय सुनाउनुभयो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय वि क र प्रधानाध्यापक पुष्पा रिजालले। दिवा खाजा भने नियमित, ताजा र सन्तुलित भएको पाइयो। ।
दुःखदायी विषय के छ भने ती टिठ लाग्दा, सुन्दर र कलिला मुनाहरू धेरैका झोला छैनन्। धेरैले विद्यालय पोशाक पनि लगाएका देखिदैनन्। अभिभावकहरूको चरम गरिवीले झोला र पोशाक किनिदिन नसकेको पीडादायी अवस्था सुनाउनुभयो शिक्षकहरूले। आफ्नो जन्मदिनको अवसर पारेर यस लेखका पङ्तिकारबाट केही विद्यार्थीलाई स्टेशनरी सामान प्रदान गरिएकोथियो।
ती गरिव विद्यार्थीहरूलाई झोला र पोशाकको सहयोग गर्नसक्ने महामना दाताको नजर परेपछि अँध्यारो बस्तीमा अलिकति भए पनि जूनकीरीको उज्यालो पस्ने थियो किरु
९लेखक( निवृत्त शिक्षक तथा शिक्षाको पूर्व स्रोतव्यक्ति समेत हुनुहुन्छ)