२०८२ चैत्र २१/काठमाडौँ
काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयको प्रांगणमा शनिबार इन्दिरा रेग्मीको मुक्तकसङ्ग्रह ‘अक्षरमा अनुभूति’ को लोकार्पण गरिएको छ। रेग्मीले समयसमयमा फेसबुकमा पोस्ट गरेका मुक्तकहरुको संगालो रहेको सो मुक्तसङ्ग्रहमा १७७ वटा मुक्तकहरु रहेका छन्।
तोकिएको समयमै शुरु भएको सो कार्यक्रममा उल्लेख्य संख्यामा सहभागिता रहेको थियो। सो कार्यक्रम राजन न्यौपानेले सञ्चालन गरेका थिए। आफ्नो मन्तव्य दिने क्रममा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दमान सिंह कार्कीले साहित्यिक विधाहरूका बारेमा चर्चा गर्नुभएको थियो भने नेपाली भाषाको इतिहासका सम्बन्धमा पनि प्रकाश पार्नुभएको थियो। साथै उहाँले मुक्तकको नियमका बारेमा पनि प्रष्ट पार्नुभएको थियो। कार्यक्रममा प्रा. प्रभात दीक्षित, निर्मलरमण पराजुली, सुशिला अधिकारी ढकाल, नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर शिव दाहाल विशेष अतिथिको रुपमा रहनुभएको थियो। मेयर शिव दाहालले नुवाकोटको साहित्यिक फाँटमा इन्दिरा रेग्मीले अथक संघर्षबाट एउटा इँट्टा थपेकोमा उहाँलाई बधाई प्रकट गर्नुभएको थियो। साथै दाहालले इन्दिरा रेग्मीसँगको छोटो अवधिको चिनजानमै उहाँको गीतबाट प्रभावित भएको कुरा पनि थप्नुभएको थियो र रेग्मीको प्रतीभाको प्रसंशा पनि गर्नुभएको थियो। साथै उहाँले समाज रुपान्तरणका लागि रेग्मीका मुक्तकहरुले सकारात्मक सन्देश दिएको कुरा पनि बताउनुभयो।
नोबेल साकोसको सहजिकरणमा भएको सो कार्यक्रममा साहित्य संगम नुवाकोटका अध्यक्ष सुमित्रा सुमितले कवितात्मक शब्दमा बधाई दिनुभएको थियो भने अन्य उपस्थित व्यक्तिहरुले पनि बधाई तथा शुभकामना दिनुभएको थियो। साथै केही साहित्यकारहरुले आआफ्ना र लोकार्पित पुस्तकमा उल्लिखित मुक्तकहरु वाचन पनि गरेका थिए। कार्यक्रममा साहित्यकारहरु तथा सञ्चारकर्मीहरु मधुसुदन प्रसाद घिमिरे, शम्भु गजुरेल, चन्द्रा न्यौपाने, अमर कीर्तिमानी, एच.पि. भट्टराई, द्वारिका कुइँकेल, राज रजक, नीरा श्रेष्ठ, निबन्ध आचार्य, दामोदर ढकाल, लक्ष्मण सिटौला लगायतको उपस्थिति रहेको थियो।