प्रकृति कर्माचार्य
मेरो ट्याकट्याके
रङ्गीचङ्गी गुच्चाहरू
फुर्र फुर्र उड्ने
चराका प्वाँखहरू
चुट्ट चुट्ट पर्या
लाम्चा गोला ढुङ्गाहरू
झिल्केदाइको पसलमा किन्देको
माछाबुट्टे रुमाल
साना ठूला सिसीका
रङ्गीचङ्गी बिर्काहरू
मन पर्ने सबै कुरा
खै कसरी हराए
खै कता हराए
आमासित रुँदै भनेँ
मेरा सामानहरू हराए
घरभरि खोज्दा पनि
सामान कतै भेटिनँ
जतनले राख्दा पनि
कतै फेलै परेन
रुँदै खोलेँ दाइको दराज
म त परेँ छक्क
भेटाएँ भेटाएँ
भनी म त चिच्याएँ
दाइ त भयो जिल्ल
पहिले देखेँ गुच्चाहरू
अनि देखेँ ढुङ्गाहरू
पालैपालो सबै कुरा
देखी म त मक्ख
सामान मेरो झिक्दाखेरि
झर्यो सामान ह्वार्र
भताभुङ्ग दाइको दराज
देखी आमा छक्क
मेरा प्यारा कुराहरू
राखेँ दराजमा टक्क
चिटिक्क मेरो दराज देखी
आमा भइन् दङ्ग
मैले भनेँ दाइलाई
अब मेरा सामानहरू
मलाई नसोधी नलिनु
मेरो कुरा सुनेर
दाइ त हाँसे मुसुक्क
हुन्छ हुन्छ भाइ भन्दै
हात मिलाए मसित
आमा हाँसिन मुसुक्क
म परेँ फुरुक्क
सबै भए मक्ख
बुढानिलकण्ठ नगरपालिका