भरत बाँसकोटा

फ्लोरेन्सले सन् १८६० मा उनको सम्मानमा संकलन गरिएको कोषको रकम प्रयोग गरेर लण्डनमा ‘Nightingle Training School for Nurse’ खोलिन्। यो नै विश्वमा वैज्ञानिक रुपले खोलिएको पहिलो नर्सिङ कलेज हुनपुग्यो। उनको विद्वता र मेडिकल क्षेत्रमा भएको ज्ञानको आधारमा उनले २०० भन्दा बढी पुस्तकहरू र अन्य ज्ञानवर्द्धक स्वास्थ्य सम्बन्धी लेख-रचनाहरु निरन्तर प्रकाशन गरिराखिन्।
फ्लोरेन्स नाइटिङ्गेललाई विश्वले आधुनिक नर्सिङ विज्ञानको संस्थापकको रुपमा चिन्दछ। उनले स्वास्थ्य सेवामा सरसफाइलाई एउटा महत्वपूर्ण पाटोको रुपमा ध्यान दिएर स्वास्थ्यकर्मीले काम गर्नुपर्ने कुरालाई अभियानको रुपमा अगाडि बढाएकी थिइन्। यो अभियानले १९ औँ र २० औँ शदाब्दीमा स्वास्थ्य क्षेत्रमा ठूलो चर्चा पायो। फ्लोरेन्स नाइटिङ्गेलको जन्म इटलीको फ्लोरेन्स भन्ने सहरमा सन् १८२० को मे १२ का दिन भएको थियो। उनलाई परिवारको सम्बन्ध त्यसबेलाको एउटा राम्रो बेलायती परिवारसँग थियो। उनको आमा बुवाले उनको नाम उनी जुन ठाउँमा जन्मिएकी थिइन् त्यही राखिदिनुभएको थियो। उनको परिवार उच्च खानदानको भएकोले परिवारले उनलाई उच्च घरानाको केटोसँग विवाह गरिदिने प्रस्ताव उनलाई राखेको थियो। तर नाइटङ्गेलले १६ वर्षको उमेरमा आफूलाई भगवानबाट आध्यात्मिक ज्ञान प्राप्त भएको र आफ्नो जिन्दगी अरुको सेवामा समर्पित हुने तथा पीडाबाट छटपटाइरहेका मानव समुदायलाई कसरी पीडा कम गराउन सकिन्छ भन्ने कुरामा आफूलाई व्यस्त गराउने निर्णय गरिन्।
फ्लोरेन्स नाइटिङ्गेलले आफ्ना आमाबुवाको अनुमति नभए पनि सन् १८५० मा जर्मनीको एउटा नर्सिङ कलेजमा नर्सरी शिक्षाको लागि भर्ना भइन्। आफ्नो पढाइ सकेपछि उनी बेलायतको लण्डनस्थित एक विरामी उपचार गृहमा सुपरिटेण्डेन्ट भई काम गर्नथालिन्। सन् १८५४ मा बेलायती युद्ध मन्त्रीले फ्लोरेन्सलाई नर्सहरुको एउटा समूह गठन गर्न अनुरोध गरे। जसको उद्देश्य क्रिमियेन युद्धमा घाइते भएका बेलायती सेनाहरुको उपचार गराउनै थियो। त्यो आज्ञाको पालना गर्दै फ्लोरेन्स नाइटिङ्गेलले ३८ जना नर्सहरुको नेतृत्व गरेर ब्रिटिस बेस हस्पिटल टर्की पुगिन्। त्यहाँ पुगेपछि अस्पतालको फोहोर र दुर्गन्धित वातावरण देखेर उनलाई सही नसक्नु भएछ। त्यो स्थितिलाई सुधार गर्न उनले तुरुन्त एउटा कार्य योजना बनाइन्। उनले अस्पताललाई तुरुन्त सबैतिर सफा गर्ने, दुर्गन्धलाई हटाउने र व्यवस्थापनमा सुधार गर्ने आदेश दिइन्। उनको यसप्रकारको आदेशले हस्पिटलमा तुरुन्त सुधार आयो र छ महिनाभित्रमा उपचारमा आएका घाइतेहरुमध्ये २ प्रतिशत मात्र मरे। यसअघि ४० प्रतिशत घाइतेहरु संक्रमणबाट मर्नेगर्दथे। रातीको समयमा हातमा बत्ती लिएर उनी हरेक विरामीको बेडमा विरामीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न पुग्थिन्। यसै कारणले उनी विश्वमा ‘The Lady with the Lamp’ भनेर प्रख्यात भइन्। उनले त्यसबेला सेनाहरु युद्धमा भएको घाउको कारणले भन्दा पनि उपचार हुनसक्ने घाउहरुमा संक्रमण भएको कारणले मरेका तथ्यांकहरु पनि प्रष्ट रुपमा सरकारलाई देखाइदिइन्। यसबाट बेलायती संसदलाई अस्पतालको सरसफाइ सम्बन्धी कानूनमा सुधार गर्न त्यसबेला बाध्य हुनुपर्यो।
युद्ध क्षेत्रबाट फर्केपछि फ्लोरेन्सले सन् १८६० मा उनको सम्मानमा संकलन गरिएको कोषको रकम प्रयोग गरेर लण्डनमा ‘Nightingle Training School for Nurse’ खोलिन्। यो नै विश्वमा वैज्ञानिक रुपले खोलिएको पहिलो नर्सिङ कलेज हुनपुग्यो। क्रिमियामा रहेको घाइते सेनाको उपचार गर्ने दुर्गन्धित अस्पतालमा काम गर्दाखेरी उनीलाई केही खतरनाक व्याक्टेरियाले संक्रमण गरेको हुनाले उनी कहिल्यै पनि सो व्याक्टेरियाबाट पूर्ण रुपमा मुक्त हुन सकिनन्। यसले गर्दा उनी जीवनको पछिल्लो ५० वर्ष ओछ्यानमै धेरै बस्नुपर्ने अवस्था आयो। तर पनि उनको विद्वता र मेडिकल क्षेत्रमा भएको ज्ञानको आधारमा उनले २०० भन्दा बढी पुस्तकहरू र अन्य ज्ञानवर्द्धक स्वास्थ्य सम्बन्धी लेख-रचनाहरु निरन्तर प्रकाशन गरिराखिन्।
फ्लोरेन्स नाइटिङ्गेलले स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै बेलायती राजा एड्वार्ड सातौँले सन् १९०७ मा उनलाई बेलायतको उच्च नागरिक सम्मान पदक ‘Order of Merit’ प्रदान गर्नुभयो। फ्लोरेन्स नाइटिङ्गेल सन् १९१० अगष्ट १३ का दिन ९० वर्षको उमेरमा यो संसारबाट विदा भइन्। उनको कामले आधुनिक नर्सिङ विज्ञानमा ठूलो महत्व राखेकोले विश्वले उनको जन्मदिन मे १२ लाई ‘International Nurses Day’ को रुपमा मनाउँदै आएको छ।
(लेखक नेपाल सरकारका पूर्व अधिकृत हुनुहुन्छ)