अनि मुसार्दै भन्नुभयो, देख्यौ त ? लोभले लाभ, लाभले विलाप भनेको यहि हो । अबदेखि अरुको खानेकुरामा लोभ नगर । चोरेर कहिल्यै नखाऊ ल? सेतेले टाउको हल्लाएर हस भन्ने संकेत दियो ।

सिलुको घरमा एउटा सानो बिरालो थियो । सिलुका बाबाले उसको नाम सेतेम्याउँ राखिदिएका थिए । सेतेम्याउँलाई सिलुका बाबा-आमा धेरै माया गर्नुहुन्थ्यो । सिलु पनि सेतेम्याउँसँग खेल्न पाउँदा निकै खुसी हुन्थिन् ।

सिलु नर्सरीमा पढ्छिन् । उनी बिहान माम खाइवरी स्कुल जान्छिन् । उनी स्कुल जाँदा बाबा अफिस जानुहुन्छ । दिनभरि घरमा सिलुकी आमा र सेतेम्याउँ मात्रै हुन्छन्। सिलु नहुँदा आमा र म्याउँ दुवैलाई नरमाइलो लाग्छ। सिलुकी आमा म्याउँलाई काखमा राखेर मुसार्छिन् । म्याउँ पनि आमालाई माया गर्दै मुखै चाटिदिन्छ । दुवै टिभी हेर्छन्, आँगनमा उफ्रिउफ्रि खेल्छन् । तीन बजेपछि दुवै नजिकैको स्कुलतिर सिलुलाई लिन जान्छन् ।

 सिलु निकै चञ्चल छिन् । उनी खाना खान त्यति मन गर्दिनन् । आमाले उनलाई खाना खुवाउन निकै कर गर्नुपर्छ । फकाउनुपर्छ । अनेक खानेकुरा र खेल्नेकुरा किनिदिने वाचा गर्नुपर्छ । अनि मात्र सिलु खाना खान तयार हुन्छिन् । सेतेम्याउँ भने ग्वामग्वाम माम खान्छ ।सुरुप्प बुबु पिउँछ । अनि म्याउँ गर्दै दुगुर्छ । ऊ निकै बलियो र फूर्तिलो छ  । सिलु भने दुब्ली र ख्याउटी छिन् ।

सेतेम्याउँ निकै लोभी पनि छ । सिलुका बाबाले ल्याइदिएको खानेकुरा सबै आफैले खान पाए हुन्थ्यो भन्ने गर्छ । सेतेलाई बुबु पनि सबै आफैले मात्र पिउन पाए हुन्थ्यो भन्ने लाग्छ । सिलुले  खाना खान मन नगरेको देख्दा ऊ खुसी हुन्छ । आफू खाइसकेपछि पनि ऊ सिलुले खाइरहेको हेरेर बसिरहन्छ ।

सिलुका बाबा आमा सेतेम्याउँलाई पनि उत्तिकै माया गर्छन् । खानेकुरा दुवैलाई बाँडेर दिनुहुन्छ । सेतेकी आमा बिराली ऊ सानै छँदा मरेकीले टुहुरो सम्झेर सिलुकी आमाले माया गरी पाल्नुभएको थियो । सेतेलाई निकै पुल्पुलाएर पालेकाले ऊ पनि आफूलाई त्यो घरको छोरोझैँ सम्झन्छ ।

एक दिन सिलुलाई लिएर बाबाआमा बाल उद्यानतिर जान्छन् । घरमा सेतेम्याउँ एक्लै हुन्छ । ऊ कहिले तल, कहिले माथि, कहिले किचेन, कहिले बेडरुमतिर दगुरिरहन्छ । केहीबेरपछि उसलाई भोक लाग्छ । उसले भान्छाकोठामा कुँडेमा छोपेर राखेको बुबु देख्छ ।

आहा! यो बुबु खान पाए हुन्थ्यो । फेरि सिलुका बाबाआमाले गाली पो गर्ने हुन् कि ? सेतेले मनमनै सोच्छ ।

 सेतेम्याउँको मनमा भोक र लोभ एकैचोटि जागेर आउँछ । ‘आ, जेसुकै होस्, यो बुबु खाइदिन्छु’ भनेर उसले एकैसासमा सप्पै बुबु स्वात्तै पारेर पिइदिन्छ ।

बेलुका सिलु र उनका बाबा आमा घर फर्कन्छन् । सिलु भोक र थकानले लखतरान भएकी हुन्छिन् ।

 ‘आमा! बुबु खाने’ भन्दै सिलु कराउन थाल्छिन् ।

एकछिन पख है भनेर आमाले उनलाई बुबु दिन खोज्दा त कुँडे रित्तै हुन्छ । उनी सेतेलाई बोलाउँछिन् र सोध्छिन्, सेते ! यो बुबु सप्पै खाइदिएको ?

सेतेम्याउँ चुपचाप बसिरहन्छ । केहीबेर गाली गरेर सिलुकी आमा खाना पकाउन थाल्नुहुन्छ ।

अर्को दिन पनि सेतेले यसरी नै बुबु खाइदिन्छ । अब उसलाई कोही नभएको मौकामा बुबु चोरेर खाने बानी नै लाग्छ । बुबु मात्र होइन, ऊ कहिलेकाहीँ भान्सामा बाँकी रहेका  अन्य खानेकुरा पनि चोर्न पल्कन्छ । सिलुकी ममीले कति पटक गाली गरिन् । कतिपटक कुटिन् । तर सेतेको लोभ र चोर्ने बानी हट्दैन ।

सिलुकी आमालाई हैरान लाग्यो ।

अब के गर्ने होला ? एक मनले त सेतेम्याउँलाई पर कतै लगेर छाडिदिऊँ जस्तो लाग्छ ।। अको मनले मान्दैन । यो टुहुरोले फेरि कसरी जिन्दगी बिताउँछ । फेरि सिलुलाई खेल्ने साथी पनि त हुँदैन सोच्दा सोच्दै आमाले एउटा उपाय निकाल्नुहुन्छ ।

एक दिन सिलुकी आमा कुँडेमा बुबु राखेर घरबाहिर जानुहुन्छ । दिउँसो सेतेलाई भोक लाग्छ । ऊ सधैझैँ भान्छा कोठातिर लाग्छ । अनि बुबु पिउन थाल्छ । सेतेले बुबु स्वाट्ट के पारेथ्यो । उसको मुख पिरोले पोल्न थाल्यो ।

ऊ म्याउँम्याउँ गर्दै चिच्याउन थाल्यो । पिरोले उसको मुखदेखि पेटसम्म टट्याउन थालेपछि ऊ बेस्मार उफ्रन थाल्यो । उसलाई छटपटी भयो । पिरोले आँखाबाट आँसु निस्कियो ।

 यत्तिकैमा सिलुकी आमा आइपुग्नुभयो । सेतेको चाला उहाँले केही बेर उभिएरै हेररहनुभयो ।

सेतेम्याउँ दौडदै आमाछेउ गयो । अनि केही नबोली हेरिमात्र रह्यो सिलुकी आमाले सेतेको आँखामा देखिन्- ऊ पिरोले जलिरहेको थियो । सिलुको बुबु चोरेर खाएकोमा सेते पछुतो पनि मानिरहेको थियो ।

 आमा हत्तपत्त किचनमा जानुभयो । कचौरामा घिउ लिएर आउनुभयो । सेतेम्याउँले छिटोछिटो घिउ चाट्यो । बिस्तारै पिरो कम हुँदै गयो ।

 सिलुकी आमाले उसलाई काखमा लिनुभयो । अनि मुसार्दै भन्नुभयो, देख्यौ त ? लोभले लाभ, लाभले विलाप भनेको यहि हो । अबदेखि अरुको खानेकुरामा लोभ नगर । चोरेर कहिल्यै नखाऊ ल ?

सेतेले टाउको हल्लाएर हस भन्ने संकेत दियो । सिलु भने यो सबै हेरेर बसिरहेक थिइन् । सेते फेरिएकोमा सिलु मुसुक्क हाँसिन् । सेतेम्याउँ उफ्रिदै उनको गोडामा लुटपुटिन गयो ।

स्व.यादव थपलियाको बाल कथा संग्रह

फर्सी बा को न्यायबाट साभार

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *