
समृद्ध जीवनको आधार, ज्ञान सीप र संस्कार

प्रकाशकीय: यसकारण हामी अायाैं
बालबालिकालाई काँचो माटोसँग पनि तुलना गर्न सकिन्छ । कुमालेले गिलो माटोलाई चाहे अनुसारको आकारमा ढाल्न सक्छ । कुमालेले मेहनत गरेर सुन्दर र अनेक आकारका माटाका भाँडा बनाए जस्तै बालबालिकाले पनि सही र अशल शिक्षा र संस्कार पाएमा उनीहरुको भविष्य सुन्दर हुन्छ ।
बालबालिकाले सुन्दर भविष्यको रेखा कोर्न पाउनु उनीहरुको अधिकार हो । त्यसका लागि उनीहरुले आफ्नो तर्फबाट परिश्रम गर्नुपर्ने त छँदैछ, उनीहरुको परिश्रम र मेहनतमा सहीरुपमा मार्गदर्शक बन्ने दायित्व अभिभावक, शिक्षक र समाजको हो । बालबालिकामा निहित असीमित सम्भावना र ऊर्जालाई समय अनुकूल जीवनशैलीमा परिवर्तन, प्राविधिक विकास र शिक्षा प्रणालीमा रुपान्तरणका साथै सामाजिक संरचनामा विस्तारका कारण अघिल्लो पुस्ता भन्दा फरक हुँदै जानु स्वभाविक मानिन्छ ।
मानव जीवनको अत्यन्त संवेदनशील चरण भएकोले उनीहरुका क्रियाकलापमा आवश्यक निगरानी र सचेतना जगाउन आवश्यक हुन्छ । आज प्रत्येक घरका पीडा, गुनासा र आक्रोश सुन्ने हो भने बालबालिका केन्द्रित नै हुन्छन्– ‘मेरो बच्चाले घरको खाना खान मान्दैन । मोबाइल ल्यापटप मात्र हेरिबस्छ । केही बोल््न हँुदैन रिसाइहाल्छ..’ यस्तै यस्तै । यसको जिम्मेवार केवल बालबालिका मात्र नभएर हामी अभिभावकले पनि लिनुपर्ने हुन्छ । बालबालिका एक्लै बस्न रुचाउने सामाजिक हुन नचाहने डिप्रेसन एन्जाइटी जस्ता मानसिक शारीरिक समस्याहरु बढ्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा उनीहरुलाई मानसिक र सामाजिक रुपमा सबल बनाउँदै लैजाने उद्देश्य बाल संस्कारले लिएको छ । हामी सबै मिलेर भोलिका कर्णधार समुन्नत भविष्यका आधारशीला बालबालिकालाई कुशल, सक्षम, इमानदार, सदाचार र संस्कारयुक्त बनाउने प्रयत्नमा जोड दिन ढिला गर्नु हुँदैन ।
प्रविधिमैत्री बालबालिकालाई परम्परागत संस्कार र प्रचलनबाट माथि उठेर आधुनिक संस्कारयुक्त बालबालिका विकास गर्ने कुरामा अभिभावकले पनि विचार गर्नुपर्ने अवस्था आएको छ । विदेशी रहन सहन र संस्कृतिमा आकर्षण बढ्नुका साथै आफ्नो देशको माया सम्मान भन्दा विदेशी मुलुकको तिरस्कारमा पनि लालयित जेनजी पुस्ता, जेन अल्फा र जेन बिटामा पनि यही मानसिकताले निरन्तरता पाउने स्थिति देखिन्छ ।
मानवमा हुनैपर्ने आपसी सद्भाव, सहकार्य, पारिवारिक जिम्मेवारी र अपनत्व अहिलेको आवश्यकता हो । यी कुराहरु भएमा बच्चाहरुमा सही शिक्षा, दिक्षा र समय सान्दर्भिक संस्कारमा सचेत गराउँदै लैजान सकिन्छ । राष्ट्रियताको भावसहित अशल शिक्षा र संस्कार पाएमा आफ्नो घर आफै बनाऔँ भने झैँ आफ्नो समाज र देश बनाउने जिम्मेवारी लिएर जुरुक्क उठ्ने छन् आजका युवा । यो कुरा ढुक्कले भन्न सकिन्छ । प्रविधिको विकाससँगै उपयोग बढ्नु र त्यसमै अभ्यस्त हुनुलाई अस्वीकार गर्न सकिदैन । तर के कस्तो कन्टेन्टमा बालबालिकाहरु भुलिरहेका छन् भनेर विचार गर्नु सचेत अभिभावकको दायित्व हो ।
आजकल सामाजिक सञ्जालका अनेक प्लेटफर्मसँगै विभिन्न वेभसाइटहरु सञ्चालनमा आएका पाइन्छन् तर बालमैत्री वेभसाइट कमै देखिन्छन् । बालबालिकाको सिर्जनशीलता सजाएर बौद्धिक क्षमता, रुची र व्यक्तिगत दक्षता अभिवृद्धि गर्ने खालका सामाग्रीहरु राखेर बनाएको वेभसाइटमा भिजिट गर्ने बानीमा सुधार ल्याउन सकियो भने पक्कै पनि अभिभावकले सोचेको र चाहेको सन्तति देख्न सक्नेछन् भन्ने विश्वास लिन सकिन्छ । यही पवित्रभावका साथ बालसंस्कार डटकम तपाईँहरुमाझ आएको छ । यसले बालबालिकालाई साहित्यिक सिर्जनाहरु रचना गर्न उत्प्रेरित र प्रोत्साहन गर्दै उनीहरुका लागि उपयुक्त खुराक पस्कनेछ । सुखी, सम्पन्न र समृद्ध जीवनयापनको लागि पठन संस्कृतिमा प्रोत्साहित गर्नु अपरिहार्य रहेको कुरा मनन गर्दै बालबालिका केन्द्रित लेख रचनाहरुलाई प्रश्रय दिने हेतुले बाल संस्कार डटकमको जन्म भएको हो । यो केवल बालबालिकाका लागि मात्र नभएर अभिभावक, शिक्षक, समाज र राष्ट्रकै समुन्नत विकास गराउने पाटोमा दत्तचित्त भएर बालमैत्री सामाग्रीहरु प्रकाशन र प्रसारणमा लाग्नेछ ।
यसले बालबालिकाको सर्वाङ्ग्रीण विकासमा आफ्नो ठाउँबाट सक्दो भूमिका खेल्नेछ । यसमा तपाईँहरुको सहयोग, साथ उचित सल्लाह र सुझावको आवश्यकता छ । हामी विश्वासका साथ त्यही अपेक्षा गरिरहेका हुनेछौँ ।
हालै मुलुकमा सुशासन र सामाजिक सञ्जाल सञ्चालनको मागका आधारमा भएको जेनजी समूहको आन्दोलनका क्रममा ठुलो जनधनको क्षति भएको छ । हालसम्मको जानकारीमा दुःखद् निधन हुन पुगेका ७४ जनाप्रति हामी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ । शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । आन्दोलनका क्रममा भएका सबै घटनाहरुमाथि छानबिन गर्न गठित न्यायिक आयोगले सत्य, तथ्य पहिचान गरी दोषीलाई कारवाही गर्ने नै छ । आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले मुलुकमा सुशासन र शान्ति कायम गर्दै पुनः निर्माण र निर्वाचनका कार्यभारलाई पूरा गर्ने विश्वास पनि व्यक्त गर्दछौँ ।
सम्पादकीय
मुलुकको समग्र उन्नयन भनेको एकैचोटी हुने कुरा होइन। त्यसका लागि समाजको अवस्था सकारात्मक रुपमा सन्तुलित हुनुपर्दछ, त्यस्तै समाज गतिलो हुनका लागि घरपरिवारमा सकारात्मक व्यवहारको खाँचोपर्दछ र आदर्श घरपरिवारका लागि परिवारका हरेक व्यक्तिको सकारात्मक सोँचको भूमिका रहनु जरुरी छ। बालबालिका भनेका कुनै पनि परिवारका नवसदस्य हुन् जसले सबै कुरा जानेको र बुझेको हुँदैन। अभिभावकबाट बालबालिकालाई सही संस्कार दिनसकिएन भने त्यो परिवारलाई कोरा परिवार अर्थात् अपरिपक्व परिवार भनिन्छ। त्यसैले घरपरिवारका हरेक सदस्य, परिवार, समाज विवेकशील भएमा मात्र मुलुक समुन्नत हुन्छ भन्ने कुरा निर्विवाद नै छ। यसका लागि सबैले आआफ्नो क्षेत्रबाट मातृभूमिको शीर उच्च राख्नसकिएमा मात्र हामी सच्चा नागरिक ठहरिन्छौँ।
मुलुकको हालको विषम परिस्थतिमा पनि हामी सवल समाजको पक्षमा उभिएर अगाडि बढ्ने प्रतिवद्धताका साथ हातेमालो गर्दै हाललाई सीमित संख्यामा अनुभवि व्यक्तित्वहरु रहेको समूहबाट २०८२ सालको विजया दशमीको अवसर पारेर ‘बालसंस्कार डटकम’ नामक अनलाइन पत्रिका प्रकाशनको प्रारम्भ गर्न लागेकोमा हामी अत्यन्त हर्षित भएका छौँ। यस पत्रिकाका लागि देशभरबाट लेख-रचनाहरु प्राप्त भैरहेको परिप्रेक्षमा शुरुमा थोरै मात्र प्रकाशन गर्दैछौँ, त्यसमा पनि पहिलो प्रकाशनमा संघीय राजधानीभित्रका भन्दा पनि मोफसलका स्रष्टाहरुलाई प्राथमिकता दिएका छौँ, यो हाम्रो नौलो आयाम पनि हो। बिस्तारै सबै क्षेत्रका स्रष्टाहरुलाई क्रमशः स्थान दिइने नै छ। प्राप्त सबै सामग्रीहरुले क्रमशः महत्वका साथ स्थान पाउने छन्। हाम्रो यस अनलाइन पत्रिकालाई यहाँहरु सबैबाट माया तथा स्नेहको खाँचो भैरहने छ। किन कि हामी समृद्ध समाजको पक्षमा छौँ। समृद्ध समाजले मात्र देश समृद्ध बन्ने कुरामा दुईमत छैन।
हामी विभिन्न सञ्चार माध्यमहरुभन्दा पनि अलग्गै दायित्व वहन गरेर मात्रै यसप्रकारको योजना बनाएर अगाडि बढ्दैछौँ। हाम्रो यो अभियान नितान्त सेवामूलक हुने कुरा अकाट्य छ। यसमा सबै क्षेत्रबाट सक्दो सहयोगको अपेक्षा गरिएको छ। बिग्रँदै गएको समाजको परिवर्तनको लागि पहिले बालबालिकामा ज्ञान-चेतना तथा संस्कारको आवश्यकता पर्ने हुँदा हामीले चालेको यस कदमले निरन्तरता पाइरहने विश्वास गरेका छौँ। बालबालिका, अभिभावक तथा शिक्षकहरुलाई लक्षित गरेर शुरु भएको यो हाम्रो अभियान निरन्तर चलि नै रहने छ भन्ने सबै पाठकहरुमा विश्वास दिलाउन चाहन्छौँ।
अन्त्यमा, विजय दशमी २०८२ को उपलक्ष्यमा देशभरका बालबालिका, शिक्षक तथा अभिभावक लगायत सबैमा हार्दिक मंगलमय शुभकामना !!! -सम्पादक: अमर कीर्तिमानी