२०८२ चैत्र २४ काठमाडौँ।
गत मंगलबार व्यक्तिगत रुपमा आयोजित एक साहित्यिक कार्यक्रम भव्य रुपमा सफलताका साथ सम्पन्न भएको छ। जसलाई एक नौलो साहित्यिक कार्यक्रमको रुपमा लिइयो। कुनै पनि साहित्यिक कार्यक्रम संस्थागत हुने गरेकोमा कवयित्री नीरा श्रेष्ठले आफ्नै पहलमा सो कार्यक्रम सफलतापूर्वक आयोजना र सञ्चालन गरेकी हुन्। काठमाडौँको पुतलीसडकस्थित ग्रिन लिफ फुड्सको सभाहलमा सामान्य साहित्यानुरागीदेखि विशिष्ठ सर्जकहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो व्यानरमा ‘नेपाली साहित्य उत्थानार्थ विशिष्ठ व्यक्तित्व सम्मान कार्यक्रम’ लेखिएको थियो। जसमा आयोजकको नाम उल्लेख थिएन।नयाँ वर्ष २०८३ सालको शुभकामना आदानप्रदानका साथै रचना वाचन पनि गरिएको थियो।
पवन आलोकको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा पूर्व सचिव एवं वरिष्ठ कवि शंकर कोइराला हुनुहुन्थ्यो।विशेष अतिथिहरुमा राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ ‘रोदन’, रामकाजी कोने हुनुहुन्थ्यो अन्य अन्य उपस्थितहरुमा विजयध्वज थापा, निर्मलरमण पराजुली, प्रमोद प्रधान, मदन नेपाल, शंकर भारती, जीवन श्रेष्ठ, विमल भौकाजी, राजन भट्टराई, सुभासचन्द्र भीमफेदिया, राजेश खनाल, मुकुन्द पौडेल, राज रजक, ध्रुबराज थापा, अमर कीर्तिमानी, भानुप्रकाश जोशी, कृष्ण बाउसे, पवन बुढाथोकी, मुकुन्द पौडेल लगायतका साहित्यकारहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा लामो समय प्राध्यापन पेशामा संलग्न रहेर अवकाश पाउनुभएका प्रा.डा. गोविन्दमान सिंह कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उहाँको जन्मोत्सवमा विभिन्न व्यक्तित्वहरुले शुभकामना पनि दिनुभएको थियो।
शुभकामना मन्तव्यमा अवकाश प्राप्त व्यक्ति देशका लागि आवश्यक ठानिएको कुरा बताइयो। कार्की लामो समय प्राध्यापन सेवामा समर्पित हुनुभएको कुरा पनि बताइएको थियो। प्रमुख अतिथि शंकर कोइरालाले व्यक्तिगत तवरबाट आयोजना गरिएको सो कार्यक्रम सायद पहिलो र ऐतिहासिक भएको कुरा बताउनु हुँदै खुशी समेत प्रकट गर्नुभएको थियो। विशेष अतिथि राधेश्याम लेकालीले आफ्नो मन्तव्यमा देश समृद्ध बनोस्, शिक्षा-दीक्षा सहज होस्, युवाहरु विदेश जान नपरोस् भन्ने विचार व्यक्त गर्नुभयो। अर्का विशेष अतिथि श्रीओम श्रेष्ठ रोदनले लेख्ने र बोल्ने शब्दहरूमा ख्याल गर्नुपर्ने कुरामा जोड दिनुभयो। नित्य वेयर्स प्रायोजक रहेको सो कार्यक्रम निर्धारित समयमै सञ्चालन भएको थियो।