१९ चैत। काठमाडौं । बालबालिकाको भविष्यको फलामे ढोका मानिदै आएको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएकोछ । यसपटकको एसईई परीक्षाको उत्तरपुस्तिकाको परीक्षण भने तीनदिनभित्रै गरिने जनाइएको छ ।
पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने यस परीक्षामा देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएकाछन् भने यसवर्ष जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिंदै छन् ।
नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् ।
यसपटकको परीक्षामा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ ।
परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने
यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।
केन्द्रले प्राप्त हुने उत्तरपुस्तिकामा ‘प्याकेट’ तोकिएको ढाँचामा लगत खडा गरी राख्नेछ । तत्पश्चात् सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० मा पठाउनुपर्नेछ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ मा परीक्षा समाप्त हुने समयमा तोकिएका परीक्षक परीक्षण केन्द्रमा पुगिसक्नुपर्ने प्रबन्ध गरिएको छ । सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक र संपरीक्षक व्यवस्था गर्नुपर्नेछ । नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।