अमर अधिकारी ।चैत्र ७ गते, काठमाडौं।

विश्व कविता दिवसका अवसरमा पेरोल साहित्य प्रतिष्ठान नेपाल र झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा ‘जमुना’ महाकाव्यको परिचर्चा तथा झ्याउरे कविता वाचन कार्यक्रम त्रिरपुरेश्वरको बोेगन भिल्ला काठमाडौँमा सम्पन्न भयो।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा प्रा.डा रमेशचन्द्र अधिकारीले पानसमा दीपप्रज्वलन गर्दे र व्यानर समेत पढेर उद्घाटन गर्नुभएको सो कार्यक्रमा विशेष अतिथिहरू वरिष्ठ साहित्यकार तथा डा.शैलेन्दुप्रकाश नेपाल र वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाका साथै अतिथिहरू सङ्गीतकार तथा गायक नरहरि प्रेमी र साहित्यकार पेशलकुमार लुईँटेल रहनु भएको थियो । राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको स्लोगाना समेत गाइएको थियो । कार्यक्रमलाई कवि क्रान्ति पराजुलीले शब्दरुपी पुष्प गुच्छाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा झ्याउरे छन्दमा लेखिएको ‘जमुना’ महाकाव्यबाट सिर्जना वाचन गरिएका थिए। सर्वप्रथम काभ्रेबाट कवि कालिका त्रिपाटी पन्तले ‘अचानक मेरो जन्म’ शीर्षकको कविता वाचन गर्नुभएको थियो। जमुना कृति अभियन्ता,आशुकवि, महाकवि तथा पत्रकार रेणुका भट्टराई ‘मञ्जरी’ द्वारा रचित कृति हो । कार्यक्रममा विशेष अतिथि डा. शैलेन्दुप्रकाश नेपालले ‘जमुना’ कृतिमाथि समीक्षात्मक टिप्पणी राख्नुहुँदै झ्याउरे छन्दमा लेखिएको नारी हस्ताक्षरको प्रथम कृति ‘जमुना’ महाकाव्य नेपाली साहित्य जगतमा भण्डारन हुनु सुखद भएको बताउँदै भट्टराईलाई दिएको आशुकविको उपाधि सही भएको बताउनुभयो। साथै जमुना महाकाव्य आत्मपरक पहिलो महाकाव्य बन्नपुगेको समेत उल्लेख गर्दैै महाकाव्यलाई सामाजिकीकरण समेत गरिएको ऐतिहासिक महाकाव्य भएको जानकारी गराउनुभयो। मौलिक लोकलयमा यतिको महाकाव्य आउनु खुसीको कुरा हो भन्नुहुँदै कृतिकारलाई शुभकामना दिनुभएको थियो। कार्यक्रम जमुना महाकाव्यमय भएको थियो। प्रतिकुल मौसमका बावजुत पनि भव्य सम्पन्न उक्त कार्यक्रममा जमुना महाकाव्यबाट साहित्यकारद्वय रुबि सत्याल र जयराम विडारीले दोहोरी झ्याउरे गीत गाउनु भएको थियो। गीति भास्करले परिचित लोकगायक मच्छेश्वर सापकोटाले आफ्ना केही झ्याउरे भाकाका गीत सहित महाकाव्यबाट समेत वाचन गर्नुभएको थियो। साथै उहाँले काभ्रेकी हाम्री चेलीको सफलता हाम्रो भन्दै शुभकामना समेत दिनुभयो। साथै सङ्गीतकार तथा गायक नरहरि प्रेमीले अभियानको श्लोगाना र तामाङ सेलो सहित जमुना महाकाव्यबाट घाँसेगीत गाउदा मञ्चमा निक्कै रमाइलो भएको थियो ।

कार्यक्रममा अतिथि साहित्यकार पेशलकुमार लुइँटेलले अग्रज साहित्यकारले अनुजलाई साथ सहयोग गर्नुपर्ने भन्दै अभियानमा रेणुका भट्टराईलाई साथ र सहयोग नमिलेको बताउँदै उहाँले सञ्चालन गर्नुभएको झ्याउरे अभियान हामी सारा लोकको आवाज हो अभियान त्यसैले सबैले दिल फराकिलो पारेर उहाँलाई सघाउनुपर्ने र कृति प्रकाशन पूर्व उहाँलाई सहि सल्लाह सुधाव दिनुपर्ने समेत औल्याउँदै जमुना महाकाव्यबाट ‘मञ्जरी’ खण्डकाव्यको रचना गर्व समेत वाचन गर्नुभएको थियो। कार्यक्रमा जमुना महाकाव्यबाट साहित्यकार कल्पना अधिकारी भट्टराईले ‘आँसुको सुहागरात’ शीर्षकको कविता वाचन गर्दा सभाहल आँसुमा डुबेको थियो। हाँसो र रोदनका बीच महाकाव्यको परिचर्चा भएको कार्यक्रमा प्रमुख अतिथि सीतायन महाकाव्यका रचनाकार महाकवि अर्थात कलियुगका वाल्मीकि भनेर चिनिने रमेशचन्द्र अधिकारीले विश्व कविता दिवसका अवसरमा विश्व कवि तथा साहित्यकारको चर्चा गर्देै नेपाली साहित्यका धरोहर भानुभक्त, देवकोटा, सम, लेखनाथ सहित गुरुप्रसाद मैनालीको समेत सम्झना गर्दे जमुना महाकाव्य झ्याउरे छन्दमा लेख्नु र नारी हस्ताक्षरको प्रथम हुनु खुसीको कुरा हो भन्नुभयो। जमुना/रेणुका एकै भएको र आत्मपरक महाकाव्यभित्र जीवन संर्घष मानव जीवनका आकृति र राष्ट्रिय घटनाहरूलाई समेत समावेश गरि इतिहास, नेपाली लोकलय, लोक संस्कृति, परम्परा आदिको उल्लेखले यो कृति सफल भएको छ भन्नुहुँदै जमुना महाकाव्य पठनीय र सरल, सरस समेत भएको जानकारी गराउनुभयो। नेपालको प्रथम अंग्रेजी भाषाकी कवि तथा साहित्यकार लक्ष्मीदेवी राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता जमुना महाकाव्यका रचनाकार रेणुका भट्टराईले जमुना महाकाव्य मेरो जीवनको कहानी मात्र नभइ आम जीवनको प्रतिनिधि बताउने प्रयास मात्र भएको जानकारी गराउँदै आफूले कुनै उपाधि, मानसम्मानका लागि अभियान र महाकाव्य लेखेको होइन भन्दै आफू खुसी हुन र बाँच्नका लागि मात्र साहित्य र पत्रकारिता क्षेत्रमा लागेको बताउँनुभयो। उहाँले एकपटक सबैले झ्याउरे लेखौँ र यसलाई विश्वमा पुर्‍याऔँ भनि अनुरोध गर्नुहुँदै सबैलाई धन्यवाद समेत दिनुभयो। उहाँ अभियानकी अभियन्ता, पत्रकार तथा पेरोल साहित्य प्रतिष्ठान नेपालकी अध्यक्ष समेत हुनुहुन्छ।

कार्यक्रमलाई सभाध्यक्षको मन्तव्य प्रस्तुत गर्नुहुँदै साहित्यकार लक्ष्मीदेवी राजभण्डारीले जमुना महाकाव्यबाट केही कविता वाचन सहित रचनाकारलाई बधाई तथा शुभकामना दिनुभयो। हामी नारीहरूलाई विभिन्न परिस्थितिले असहज बनाउँदै लान्छन्, तर हामीले सामना गर्दैै निरन्तर अगाडि बढ्नुपर्दछ। यस धर्तीमा केही काम गरेरै जानुपर्दछ। त्यसैले हामीले सत्कर्म गरौँ भन्दै सभा विसर्जन गर्नुभएको कार्यक्रमलाई कवि गङ्गा खतिवडाले कुसलतापूर्वक सञ्चालन गर्नुभएको थियो। उक्त कार्यक्रमा अमर कीर्तिमानी, सन्जु श्रृया राजभण्डारी, लेखप्रसाद पन्त, कमला शाक्य ‘सृष्टि’, प्रणव राजभण्डारी, आल्फिफोहेन फाक्लुप्पा र आयुष लोहला आदि समेतको उपस्थिति रहेको थियो।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *