घोराही, फागुन २७ । घोराही बनाऔं अभियानले बिहीबारदेखि दाङको घोराहीमा हुन लागिरहेको महोत्सवमा स्थानीय कलाकार, जिल्लाबाट बाहिर गएर स्थापित बनेका कलाकार एवं यहाँका विद्यालयका विद्यार्थीहरुलाई सांस्कृतिक कार्यक्रममा अनिवार्य सहभागि बनाउन माग गरेको छ।

घोराही बनाऔं अभियानले आजदेखि घोराहीको झिंगौरा-रतनपुरमा हुन लागिरहेको महोत्सवमा स्थानीय कलाकार र विद्यार्थीलाई अनिवार्य सहभागि बनाउन माग गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा, दाङलाई ज्ञापनपत्र बुझाएको हो। महासंघले फागुन २८ गतेदेखि चैत्र १८ गतेसम्म घोराहीमा ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२’ को आयोजना गर्न लागिरहेको बताइएको छ। घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले महासंघका निवर्तमान अध्यक्ष प्रदीप मजगैयालगायतको टोलीलाई ज्ञापनपत्र बुझाउनुभएको हो। प्रियासनले बुझाएको ज्ञापनपत्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला, शाखा दाङले यही २०८२ फागुण २८ गतेदेखि चैत्र १५ गतेसम्म घोराहीको झिंगौरामा सो महोत्सव आयोजना गर्न लागिरहेकोमा महोत्सवको सफलताको शुभकामना दिनुका साथै विभिन्न सञ्चार माध्यममा महोत्सव सम्बन्धी समाचारहरु पढ्दै गर्दा महोत्सवलाई समाजसँग जोड्नका लागि आयोजकले अवलम्बन गर्न खोजिरहेको सोँच पनि राम्रो रहेको बताइएको छ। यति हुँदाहुँदै पनि महोत्सवलाई अझ राम्रो र सबैलाई समेट्ने किसिमले सार्थक प्रयास गर्नुपर्नेमा जोड दिइएको छ।

यसै सन्दर्भमा महोत्सवमा स्थानीय र जिल्लाका कलाकारहरु, दाङमा जन्मिएर केन्द्रमा समेत प्रभावकारी भूमिका खेलिरहेका कलाकारहरुलाई उच्च प्राथमिकता दिन जोडदार माग गरिएको छ। घोराही–दाङ बनाउने तपाई हामी सबै मिलेर हो भन्ने कुरामा पनि जोड दिइएको छ। यस अर्थमा जिल्लाका प्रतिभाहरुलाई प्रोत्साहन गर्ने दायित्व हुनुपर्नेमा पनि जोड दिइएको छ। साथै महोत्सवमा स्थानीय विद्यालय अनि विद्यार्थीहरुका लागि उपयोगी कार्यक्रमहरु गराउने प्रयास भैरहेको बताइएको छ। यसका साथै स्थानीय विद्यालयका विद्यार्थीहरुको प्रतिभा अनिवार्य रुपमा सांस्कृतिक कार्यक्रममा जिल्लास्थित शैक्षिक संघ-संस्थाहरुसँग समन्वय गरी हरेक दिन विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने वातावरण निर्माण गरी उनीहरुलाई प्रोत्साहन गर्न समेत अनुरोध गरिएको छ।

 सबैको साथ सहयोग र सहभागिताले नै महोत्सवमा रौनक थपिनुका साथै अपनत्व समेत बढ्ने कुरा पनि जनाइएको छ। ज्ञापनपत्र बुझ्दै महासंघका टोलीले यस पटकको महोत्सवमा स्थानीय कलाकार तथा विद्यार्थीहरुले आफ्नो क्षमता भरपुर रुपमा प्रदर्शन गर्न पाउने बताइको छ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *