अमर कीर्तिमानी, २८ फागुन, काठमाडाैँ ।

आफ्नो स्थापनाकालको बतिसौँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौँ जिल्लाको उत्तरी भेगमा अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलले वार्षिक खेलकुद महोत्सव -२०८२ भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पढाइका अतिरिक्त विभिन्न क्रियाकलापमा सरिक गराउँदै आएको यस विद्यालयले सप्ताहव्यापी रूपमा खेलकुद प्रतियोगिता आयोजना गरी भव्यताका साथ  समापन गरेको थियो । कार्यक्रमको सभाध्यक्षता विद्यालयका प्रधानाध्यापक महेश कुमार श्रेष्ठले ग्रहण गर्नुभएको थियो भने बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा उहाँले विद्यालयका उत्कृष्ट खेलकुद गतिविधिका लागि बधाई ज्ञापन गर्दै शुभकामना मन्तव्य पनि दिनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिका स्वागतार्थ  हस्तान्तरण गरिएका  विद्यार्थीद्वारा बनाइएका फूलका बुकीद्वारा प्रभावित भई नगरपालिकाले आगामी कार्यक्रमका लागि  फूलको बुकीको माग गर्ने कुरा पनि व्यक्त गरेको थियो। बूढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित विक्रम सिंह, बूढानीलकण्ठ शिक्षा शाखाका स्रोत व्यक्ति जय कुमार श्रेष्ठ, शिशुमिलन इङलिस हाइ स्कुलका संस्थापक अध्यक्ष तथा बूढानीलकण्ठ प्याब्सनका अध्यक्ष राधेश्याम श्रेष्ठलगायतका विशेष अतिथिका आगमनले कार्यक्रम शोभनीय बनेको थियो भने बूढानीलकण्ठ क्षेत्र विकास समितिका सचिव राजेन्द्र खड्का, बूढानीलकण्ठ युवा क्लबका अध्यक्ष गणेश कुँवर, बूढानीलकण्ठ नगरपालिका वडा नं ३ का सदस्य विकास तामाङ, महिला वडा सदस्य बालमाया श्रेष्ठ, अनिता मिलन इन्टरनेसनल स्कुलका प्रधानाध्यापक शिशिर अधिकारीको गरिमामय उपस्थितिले कार्यक्रममा सुनमाथि सुगन्ध थपिएको थियो ।

कार्यक्रममा चाइनिज कल्चर सेन्टरका तर्फबाट चाइनिज नयाँ वर्षको अवसरमा विभिन्न साजसज्जाका आकर्षक सामग्रीहरू प्रदर्शन गरिएका थिए। कार्यक्रममा चाइनिज कल्चर सेन्टरका निर्देशक लिउ ज्यापिङ द्वारा बेलुन उडाइएर सुरुवात गरिएका चाइनिज नृत्य तथा ड्राइगन नृत्यले सबैलाई मन्त्रमुग्ध पारेका थिए। सो अवसरमा लिउ ज्यापिङले  विद्यालयलाई मायाको चिनो उपहार प्रदान गर्नुका साथै चिनिया भाषामा आफ्ना सारगर्भित मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्तर्राष्ट्रियस्तरमा विविध आठवटा खेलका रेफ्रीका रूपमा चिरपरिचित व्यक्तित्व तथा बाल विकास बोर्डिङ हाइ स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक सुकमान लामाद्वारा परिकल्पना गरिएका आकर्षक खेलहरूमा उहाँद्वारा प्रशिक्षित विद्यार्थीद्वारा उत्कृष्ट प्रस्तुति गरिएका थिए। साथै सो कार्यक्रममा  विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा  विभिन्न आकारमा परिकल्पना गरिएका उत्कृष्ट मार्च पास्ट  प्रदर्शन गर्नुका साथै कुङ फु का उत्कृष्ट प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्रदर्शन गरिएका चाइनिज नृत्य, लाइन नृत्य  पनि प्रस्तुत गरिएका थिए। त्यसैगरी कार्यक्रममा उत्कृष्ट नेपाली सांस्कृतिक नृत्य र गायनहरू  पनि प्रस्तुत गरिएकाले कार्यक्रम बहुआयामिक बनेको थियो ।  कार्यक्रममा उपस्थिति जनाउनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथि सबैलाई मायाको चिनो प्रदान गर्नुका साथै खेलकुदको उन्नयन  र अतिरिक्त क्रियाकलापमा पुराउनुभएको अनुकरणीय योगदानको कदर गर्दै विद्यालयले अतिरिक्त क्रियाकलाप संयोजक सुकमान लामालाई सम्मान गरेको थियो भने विद्यालयका सबै शिक्षकशिक्षिकालाई मायाको चिनो हस्तान्तरण गरेको थियो। साथै विद्यालयको शिक्षालाई सूचनाप्रविधिसँग जोड्दै प्रविधिमैत्री शिक्षा प्रदानमा अहोरात्र खट्नुहुने रोबोटिकका शिक्षकहरू र विद्यार्थीमा अन्तर्निहित बहुप्रतिभालाई प्रस्फुटन गर्न प्रोत्साहित गर्ने क्यानोपी नेपाललाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो। कार्यक्रमको  अन्त्यमा विद्यालयका संस्थापक अध्यक्ष शङ्करदास श्रेष्ठ, संस्थापक प्रधानाध्यापक महेश कुमार श्रेष्ठ र प्रशासकीय अधिकृत दिनेश श्रेष्ठद्वारा ओजपूर्ण मन्तव्य व्यक्त गरिँदै  कार्यक्रमको  समापन भएको थियो ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *