काशीराम पौडेल,

शिक्षक

श्री जनता माध्यमिक विद्यालय

लोकतन्त्रको मुख्य आधारस्तम्भ चुनाव नै हो। चुनावी प्रचार मार्फत राजनीतिक दल र उम्मेदवारले आफ्ना नीति, कार्यक्रम तथा दृष्टिकोण मतदाता समक्ष प्रस्तुत गर्छन्। तर चुनावी प्रचारका क्रममा बालबालिकाको प्रयोग हुनु गम्भीर सामाजिक र नैतिक समस्या हो। र्‍याली, नारा(जुलुसमा सहभागी गराउने, पोस्टर बोकाउने, गीतनाचमा संलग्न गराउने तथा सामाजिक सञ्जालका प्रचार सामग्रीमा बालबालिकालाई सहभागी गराउने प्रवृत्तिले उनीहरूको अधिकार, सुरक्षा र भविष्यमा नकारात्मक असर पार्दछ। त्यसैले चुनावी प्रचारमा बालबालिकाको प्रयोग नहोस् भन्ने विषय आजको अत्यन्तै महत्वपूर्ण आवश्यकता हो। बालबालिका स्वभावतः राजनीतिक रूपमा अपरिपक्व हुन्छन्। उनीहरूले राजनीतिक विचारधारा, दलको नीति वा चुनावको वास्तविक अर्थ पूर्ण रूपमा बुझ्न सक्दैनन्। वयस्कको निर्देशनमा नारा लगाउनु वा प्रचारमा सहभागी हुनु उनीहरूको स्वतन्त्र निर्णय नभएर बाध्यता हो। यसरी बालबालिकालाई राजनीतिक स्वार्थ पूरा गर्ने साधन बनाउनु बालअधिकारको उल्लङ्घन त हो नै, लोकतान्त्रिक मूल्य मान्यताको भावना विपरित पनि हो।

सहानुभूति र भावनात्मक प्रभाव सिर्जना गर्न बालबालिकाको प्रयोग गर्नु अस्वस्थ राजनीतिक संस्कृतिको संकेत हो। चुनावी प्रचारमा बालबालिकाको सहभागिताले उनीहरूको शिक्षामा प्रत्यक्ष असर पार्छ। प्रचार सभामा सहभागी गराउँदा बालबालिका विद्यालय जान पाउँदैनन्, जसले उनीहरूको शैक्षिक प्रगति अवरुद्ध हुन्छ। पढाइभन्दा राजनीति प्राथमिकतामा पर्नु बालबालिकाको भविष्यका लागि अत्यन्त घातक हुन्छ। शिक्षा बालबालिकाको मौलिक अधिकार हो, जसलाई कुनै पनि राजनीतिक उद्देश्यका लागि हनन गर्न मिल्दैन। यसका साथै, चुनावी प्रचारको वातावरण प्रायः जोखिमपूर्ण र असुरक्षित हुन्छ। चुनावी प्रचारमा ठूलो भीड, धक्का–मुक्का, चर्को नाराबाजी, सडक अवरोध तथा कहिलेकाहीँ हिंसात्मक घटना पनि हुने गर्छन्। यस्ता अवस्थामा बालबालिकालाई सहभागी गराउनु उनीहरूको शारीरिक र मानसिक सुरक्षामाथि गम्भीर खतरा हो। भीडमा हराउने, घाइते हुने वा डर र तनावको अनुभव गर्ने सम्भावना उच्च हुन्छ। बाल्यकाल डर र असुरक्षाले होइन कि, सुरक्षा र स्नेहले भरिएको हुनुपर्छ।

बालबालिकाको प्रयोगले उनीहरूको मानसिक र सामाजिक विकासमा नकारात्मक प्रभाव पार्छ। सानै उमेरमा राजनीतिक द्वन्द्व, घृणात्मक अभिव्यक्ति र विभाजनले भरिएको वातावरणमा बालबालिका हुर्कँदा त्यसले उनीहरूको मानसिक र सामाजिक विकासमा गहिरो नकारात्मक असर पार्छ। बाल्यकाल संवेदनशील अवस्था भएकाले यस समयमा देखिएका व्यवहार, सुनेका शब्द र अनुभूत गरेका अनुभवहरूले उनीहरूको सोच र चरित्र निर्माणमा दीर्घकालीन प्रभाव पार्छन्। जब बालबालिकाले निरन्तर रूपमा गालीगलौज, आक्रोशपूर्ण नाराबाजी, दलगत घृणा र विरोधको भाषा देख्छन्, तब उनीहरूमा सहिष्णुता र सहकार्यभन्दा पनि असहिष्णुता, आक्रोश र पूर्वाग्रहको भावना विकास हुन थाल्छ। यसले उनीहरूलाई फरक विचारप्रति असहज बनाउँदै समाजलाई विभाजनको आँखाले हेर्ने बानी बसाल्न सक्छ। यस्तो मानसिकता लिएर हुर्किएका बालबालिका भविष्यमा जिम्मेवार, सहिष्णु र लोकतान्त्रिक नागरिक बन्न नसक्ने जोखिम बढ्छ। यसको परिणाम स्वरूप समाजमा हिंसा, असहयोग र द्वन्द्वको चक्र निरन्तर रहन सक्छ, जसले देशको सामाजिक सद्भाव र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गर्छ। त्यसैले बालबालिकालाई यस्ता नकारात्मक राजनीतिक वातावरणबाट टाढा राख्नु आजको आवश्यकता हो, किनकि सानै उमेरमा रोपिएको घृणाको बीउले भविष्यमा निम्त्याउने विकराल अवस्थाको आज कल्पना गर्न पनि सकिँदैन।

बाल्यकाल त खेल, सिर्जनशीलता र सिकाइको समय हो, राजनीतिक प्रतिस्पर्धाको मैदान होइन। उनीहरूको स्वाभाविक विकास प्रक्रियामा हस्तक्षेप गर्नु समाजका लागि दीर्घकालीन रूपमा हानिकारक हुन्छ। यस प्रकारको प्रवृत्तिले राजनीतिक संस्कारलाई पनि कमजोर बनाउँछ । राजनीतिक दलहरू नीति र कार्यक्रमका आधारमा प्रतिस्पर्धा गर्नुको सट्टा भावनात्मक प्रचारमा निर्भर हुन थाल्छन्। यसले मतदातालाई सचेत निर्णय गर्न कठिन बनाउँछ र लोकतन्त्रलाई सतही बनाउँछ। जिम्मेवार राजनीतिका लागि बालबालिकाको अधिकारको सम्मान गर्दै उदाहरणीय आचरण प्रस्तुत गर्नु पर्दछ। चुनावी प्रचारमा बालबालिकाको प्रयोग रोक्नका लागि कानुनी व्यवस्था र यसको प्रभावकारी कार्यान्वयन अनिवार्य छ। बालअधिकार सम्बन्धी ऐन कानुन भए पनि व्यवहारमा उल्लङ्घन भइरहेका छन्। निर्वाचन आयोग, बालअधिकार निकाय र सुरक्षा निकायबीच समन्वय गरी कडा अनुगमन र कारबाहीको व्यवस्था गर्नुपर्छ। कानुन उल्लङ्घन गर्ने राजनीतिक दल वा व्यक्तिलाई दण्डित गर्न सके मात्र यस्तो प्रवृत्ति नियन्त्रणमा आउँछ ।

विद्यालय, सञ्चार माध्यम र अभिभावकको भूमिका पनि अत्यन्तै महत्वपूर्ण छ। विद्यालयले बालअधिकार र नागरिक चेतना बारे शिक्षा दिनुपर्छ। सञ्चार माध्यमले बालबालिकाको प्रयोगलाई प्रश्रय नदिई आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्छ। अभिभावकले आफ्ना राजनीतिक विश्वास बालबालिकामाथि नथोपरी उनीहरूको सुरक्षा, शिक्षा र भविष्यलाई प्राथमिकतामा राख्नुपर्छ। आजका बालबालिका राष्ट्रका भविष्य हुन्। उनीहरूलाई स्वार्थको साधन नबनाएर अधिकारयुक्त, सुरक्षित र सम्मानित नागरिकका रूपमा हुर्कन दिनु समाज र राज्यको साझा दायित्व हो। चुनावी प्रचारमा बालबालिकाको प्रयोग रोक्नु भनेको नै यथार्थमा कानुन पालना गर्नुका साथै मानवीय मूल्य, नैतिकता र सुदृढ लोकतान्त्रिक संस्कृतिको रक्षा गर्नु पनि हो। आज बालबालिकाको अधिकार जोगाउन सकेमा नै भोलिको राष्ट्र स्वतः सक्षम, सचेत र न्यायपूर्ण बन्नेछ। यसकारण ‘चुनावी प्रचारमा कदापि बालबालिकाको प्रयोग नहोस्’यो राष्ट्रको पुकार हो, भविष्यको सुन्दर सपना हो, वास्तविक लोकतन्त्र र सुशासनको जपना पनि हो।

जैमिनी नगरपालिका ९ पैयुँथन्थाप, बागलुङ ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *