देबकी के.सी

सरला र शारदा दुबै आफ्नो गाउँको विद्यालयमा कक्षा सातमा पढ्थे। उनीहरु एकआपसमा मिल्ने साथी थिए। सरलाको एउटा नराम्रो बानी थियो चुइंगम चपाउने। उनी चुइंगम असाध्यै मन पराउने गर्थिन्। कक्षामा पनि चुइंगम खाएकै कारण उनलाई धेरै पटक सर-मिसले गाली गर्नुभएको थियो। सर-मिसले थाहा पाउने डरले उनले कति पटक चुइंगम बेन्चमुनि टाँस्ने गर्थिन्। सरलाले चुइंगम चपाएर जथाभावि टाँसेको शारदालाई मन परेको थिएन। एकदिन उनले आफ्नो साथीको बानी सुर्धाने उद्देश्यले सरलालाई भनिन्- “सरला, तिमी यसरी चुइंगम चपाएर बेन्चमुनि जथाभावि टाँस्ने काम नगर त ! केहि गरि कपडामा टाँसियो भने कपडा बिग्रन्छ, यो काम राम्रो होइन  भनेर सर-मिसले तिमीलाई धेरैपटक भनिसक्नुभयो। तैपनि तिमी मान्दिनौ। मलाई तिम्रो यो बानी मन परेको छैन है सरला!“

आफ्नो मिल्ने साथीले यसो भन्दा सरलालाई निकै रीस उठ्यो। उनले मनमनै आफ्नो मिल्ने साथी शारदासित बदला लिने योजना बनाइन्। भोलिपल्ट उनले थाहा नपाउने गरी चुइंगम चपाएर शारदा बस्ने बेन्चमा टाँसिदिइन्। शारदाले त्यो कुरा थाह नपाइ आफ्नो बेन्चमा बसिन् । उनको कपडामा चुइंगम टाँसिएर कपडा बिग्रियो । कक्षाका सबै साथीहरु उनको कपडा चुइंगममा टाँसिएको देखेर हाँस्नथाले। शारदाले मनमनै भनिन्– “पक्कै पनि यो काम सरलाले गरेको हो। हिजो मैले भनेको कुरा उनलाई मन परेको थिएन। मैले त उसले नै आफ्नो बानी सुधार गरोस् भनेर त भनेको हो नि। तर उसले त मलाई रीस फेर्न यस्तो गरिन्।“ मिल्ने साथी भएर पनि आफूलाई यस्तो गरेकोमा शारदाको मन निकै दुखेको थियो। तर उनले सरलालाई केहि पनि भनिनन्। आफु चुप लागेर बसिन्।

अर्को दिन पनि सरलाले कक्षामा चुइंगम चपाइराखेकी थिइन्। अचानक सर्किएर चुइंगम घाँटीमा अड्किन पुग्यो र चुइंगम निल्न पनि सकिनन्। सरला आँखाबाट बर्बर्ती आँशु खसालेर खोक्नथालिन्। उनको अनुहार रातो भयो। श्वास नै बन्द होला जस्तो भयो। बल्लतल्ल खोक्दा घाँटीमा अड्केको चुइंगम बाहिर निस्कियो। शारदाले उनको पिठ्यु माडिदिइन् र आँशु पुछिदिइन् अनि खोकी कम भएपछि पानी पिउन दिइन् । बल्लतल्ल उनलाई अलि सन्चो भयो। यस्तो गाह्रो भएको बेला शारदाले गरेको सहयोग र माया देखेर सरला निकै खुसी भइन्। तर आफुले शारदालाई उनको लुगामा चुइंगम टाँसेर दुःख दिएँ। मैले त्यति दुःख दिँदा पनि उनले मलाई यस्तो बेलामा पनि सहयोग र माया गरिन्। मैले यस्तो असल साथीलाई दुःख दिएर गल्ती गरेछु भनेर सरलालाई मनमनै निकै पश्चाताप भयो। त्यस दिनदेखि उनले चुइंगम खाने नराम्रो बानी त्याग्ने निर्णय गरिन्।

दक्षिणकाली न.पा.-३ काठमाडौँ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *