माघ २४। काठमाडौँ
मुक्तक तथा मुक्तककारको सम्मान, मुक्तकालय नेपालको अभियान भन्ने मूल अभिव्यक्तिका साथ मुक्तक विधा प्रबर्धनका निमित्त काम गर्दै आएको मुक्तकालय नेपालले आज आयोजित एक कार्यक्रममा दुई मुक्तक संग्रह विजयोपहार र मुक्तकाशका सितारा नामक कृति लोकार्पण गरेको छ ।
लोकार्पित कृति मुक्तकाशका सितारामा दुईसय नारी मुक्तककारलाई सिताराका रुपमा समावेश गरिएको छ । त्यसै गरि दोस्रो बिजयोपहार संयुक्त संग्रहमा मुक्तकालय नेपालद्वारा हरेक हप्ता फेसबुकमार्फत सञ्चालन भइरहेको फोटोमा मुक्तक प्रतियोगितामा विजय प्राप्त गरेका मुक्तकहरुको सङ्ग्रहित रहेकाछन् ।

आशंकाका घोडाहरु हिनहिनाइरहेको बेला
संघारैमा सन्त्रासको दियो बलिरहेको बेला
म जन्माउन चाहन्न यो अभिषप्त धर्तीमा
मान्छेले मान्छेकै मासु निसंकोच चपाइरहेको बेला‍-उषा शेरचन

पाँचदशक अघि नै यति शसक्त उल्लिखित मुक्तक लेखेर नारी साहित्यकारहरुको तर्फबाट मुक्तक आन्दोलनकी एक्लो वृहस्पतिको रुपमा आफुलाई उभ्याएकी कार्यक्रमकी प्रमुख अतिथि मुक्तक साम्राज्ञी उषा शेरचनले सवैलाई बधाई ज्ञापन गर्दै नेपाली मुक्तक साहित्यको यात्रामा यो दिन विशेष महत्व बोकेको बताउनु भयो । दुइसय नारी स्रष्टाहरुको छसयवटा मुक्तक समावेश भएको मुक्ताकाशका सिताराको सन्दर्भमा बोल्दै शेरचनले शब्दलाई श्वास, भावनालाई आवाज र अनुभूतिलाई अभिव्यक्ति बनाउँदै आएको सामुहिक उपस्थितिले मुक्तक आकाश अझ उज्यालो बनेको छ । यो केवल एउटा संग्रहमात्र नभई नारी चेतना आत्माविश्वास र सिर्जनशील शक्तिको दस्तावेज भएको बताउनुभयो ।

मुक्तकालय नेपालकी अध्यक्ष निलन्जला भारद्वाजको अध्यक्षतामा भएको सो कार्यक्रममा मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोने , काठमाडौ महानगरपालिका वडा नं १५का वडाअध्यक्ष इश्वरमान डंगोल, निशा के.सी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

लोकार्पित कृति दोस्रो विजयोपहारका संयोजक सुनील अधिकारी र मुक्ताकाशका सिताराकी संयोजक भारद्वाजले कृतिहरुका बारेमा आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा मुक्तकालय नेपालले स्रष्टाहरुको सिर्जनाको मूल्य हुने बताउँदै स्रष्टाहरुलाई सिर्जनाको पारिश्रमिक दिने व्यवस्था गरेको बताइएको थियो ।
कार्यक्रम हातेमालो साहित्यसंगमका उपाध्यक्ष विपिन मर्मले सञ्चालन गर्नुभएको थियो ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *