अनुप जोशी
राम बहादुर र श्याम लाललाई घरबाट विद्यालय पुग्न आधा घण्टा जति लाग्थ्यो। उनी दुईजना सधैँ सँगै विद्यालय जाने गर्थे। राम बहादुरभन्दा श्याम लाल एक कक्षा अगाडि थियो। दश बजे स्कुलमा पुग्नका लागि दुबैजना आठ बजे नै घरबाट निस्किहाल्नु पर्दथ्यो। उनीहरु चराहरुलाई ढुङ्गा हान्दै, गुच्चा खेल्दै आफ्नो दुनियामा मस्त भएर विद्यालय जानेगर्दथे। विद्यालय जाने बाटोमा पानीको एउटा धारा थियो। धाराको फोहर पानी जम्मा गर्नका लागि एउटा पोखरी पनि थियो। जहाँ पानी जम्मा गरेर कृषि प्रयोजन र गाईवस्तु सफा गर्नका लागि गाउँलेहरुले प्रयोग गर्थे। पोखरीको पानी खोल्न र बन्द गर्न एक ठाउँमा प्वाल बनाइएको थियो। ती दुबैजना जहिले पनि त्यो ठाउँबाट पानी खुल्ला गरेर विद्यालय जाने बाटो नै हिलाम्मे पार्दथे। बाटो फोहर भएको कारण धेरै मान्छे त्यहाँ हिलोमा चिप्लिएर लड्थे र लुगाहरु फोहोर हुन्थ्यो। त्यो देखेर राम बहादुर र श्याम लाल रमाउँथे। कहिलेकाहिँ भने ती दुबैले त्यो गरेका कारण पानी जम्मा पार्ने किसानबाट बाटोमै पिटाइ पनि खान्थे। गाउँकै विद्यालय भएकोले बाटोमा गरेको बदमासीको कुरा विद्यालयसम्म पुग्यो भने विद्यालयमा प्रार्थनाको समय अगाडि उठबस अनि कुखुरा बन्नुपर्थ्यो। साथै उनीहरु एकअर्कालाई आरोप लगाउने गर्थे। राम बहादुरले श्याम लाललाई भन्थ्यो- “उसले गर्न लगाएको” अनि श्यामले रामलाई भन्थ्यो- “उसले गर्न लगाएको।” यसो गर्दागर्दै ती दुई जनाबीच भनाभन भई कहिले त कुस्ती पनि हुन्थ्यो। झगडापछि दुबैजना दुईदिन अलग बाटो जान्थे भने तेस्रो दिन फेरी एउटै बाटो जान्थे। नबोलिकन चौथो दिनदेखि त फेरि पुरानै दिनचर्या सुरु हुन्थ्यो। एकदिनको कुरा हो- विद्यालयबाट घर जानेबेला प्याज रोप्नको लागि बारी तयार गरेर किसानले छोडेका थिए। दिउँसोको समय हुनै लागेकाले प्याज रोप्ने किसान खाना खान घर गएका थिए। त्यही मौकामा राम र श्यामले पुरै प्याजको बारी बिगारेर घर गए। दोस्रो दिन बिहान आउने बेला बारी बनाएर ती किसानले प्याज रोपिरहेका थिए। त्यही पानी भएको पोखरीबाट प्याज बारीमा पानी लैजाने भएकाले पोखरी भरेर राखिएको थियो। ती दुबैजनाले त्यो पोखरीको पानी जम्मै बाटोमा लगाइदिए। किसान आउने बेलासम्म पोखरीको पुरै पानी सकिएको थियो। अनि ती किसानले गाली गर्दै राम र श्यामलाई सराप्न लागे। अर्को दिन विद्यालयबाट दुबैजना घर फर्कने बेला त्यही बाटो कुरा गर्दागर्दै गइरहेका थिए। त्यही बारी नजिक पुगेपछि श्यामले भन्यो- “हिजो हामीले पानी खोलिदिँदा अहिलेसम्म पानी लगाएका छैनन्, पक्कै आज लगाउँछन्” भन्दै बारीको डिलमा एक लात्ती हान्यो। रामले पनि एक लात हान्दै अर्को डिल बिगार्दै भन्यो- “भोलि पनि हामीले पानी खोलिदिनुपर्छ।” रामले यति मात्र के भनेको के थियो किसानले ती दुईजनाको क्रियाकलाप सबै हेरिरहेका रहेछन्। त्यो सबै सुनिसकेपछि टाढैबाट ढुङ्गाले हान्न खोजेपछि ती दुबैजना भाग्दै दौडेर घर पुगे। किसानको घर बाटोछेउँमा रहेकोले भोलि विद्यालय जान डर लाग्यो र तीन चार दिनसम्म ती दुईजना विद्यालय गएनन्।
घरबाट जाने बाटोमा डरले लुकेर बस्ने र सबै विद्यार्थी घर फर्किने बेला उनीसितै घर फर्किने गरे। केही दिनपछि राम र श्यामको बदमासी बारे उनकै साथीहरुले विद्यालयमा भन्दिएपछि विद्यालयबाट राम र श्यामको घरमा चिठी लेखेर अभिभावक सहित विद्यालय आउन भनियो। त्यसपछि दुईटैले घरमा समेत सजाय भोगे। कसले बदमासी गरेको हो भनेर सोध्दा रामले श्यामलाई र श्यामले रामलाई भन्थ्यो। घरबाट विद्यालय जाँदा आउँदा अबदेखि यस्तो नगरुन् भनेर चेतावनी दिएपटि भोलिपल्टदेखि विद्यालय आउने जाने गर्लान् भनेर कुरा मिलाइयो। त्यो दिनदेखि दुईजनाको बाटो अलग अलग भयो र राम तथा श्याम एकअर्कासँग बोल्न पनि बन्द भयो। दुई महिनासम्म दुबैजना एकअर्कासँग कुरा पनि भएन। एकदिन विद्यालयबाट घर आउँदा राम र श्याम संयोगबस त्यहीँ बाटो र त्यहीँ बारी नजिक पुगेर रामले भन्यो- “रामे ! यो बारीको कारण हामी दुईजनाले कुटाई खायौं। अब हामीले बदमासी काम नगरौँ, बदमासी गर्दा घरमा पनि गाली खाइने र विद्यालयमा पनि सजाय भोग्नुपर्ने हुन्छ। अब हामी इमानदार भएर लगनशीलताका साथ पढाइमा ध्यान दिनुपर्छ।
बैतडी