दाङ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित बाल उपन्यास “नयाँ लुगा” को बिहीबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा गरिएको कार्यक्रममा प्रियासनको १३ औँ कृति सार्वजनिक गरिएको हो ।
नेपालकै सर्वाधिक उपन्यास प्रकाशित गर्नु भएका प्रियासनको यस वर्ष यो तेस्रो उपन्यास प्रकाशन हो । प्रियासनका यस अगाडी कार्तिकमा ‘कालोमन’ र असारमा ‘कडी’ उपन्यास सार्वजनिक भएको छ । परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा परिषदका पुर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता एवं परिषदकै सल्लाहकार पदम प्रसाद शर्माको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । नेपालकै दोस्रो धेरै उपन्यासकारका रूपमा पहिचान बनाएका प्रियासनको कृतिको विमोचनसँगै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका दुई युवा प्रतिभालाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा ‘घोराही बनाऔं’ अभियानको तर्फबाट सामुदायिक विद्यालयबाट चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा उतिर्ण हुँदै पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल घोराही–१० का रोशनी घर्ती मगर र राजपुर निवासी बबई गाउपालिकाको सरस्वती आधारभूत बिद्यालय जलजलामा २० वर्षको उमेरमा प्रधानाध्यापक बन्नुभएका सुरक्षा कुमारी यादवलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अझ राम्रो र उत्कृष्ट रचना ल्याउन सुझाव दिनुभयो । उहाँले पाठकको रोजाइमा पर्नसक्ने पुस्तक ल्याउनु पर्ने बताउनुभयो ।
सो अबसरमा बोल्ने वक्ताहरुले प्रियासनलगायतका उपन्यासकारहरुका कारण उपन्यास लेखनमा दाङ बलियो स्थानमा उक्लिएको बताएका थिए । वक्ताहरुले प्रियासनलाई नेपालकै पहिलो बन्न सुझाब दिँदै खदिलो, वजिलो विषय वस्तुमा पनि उपन्यास प्रकाशित गर्न अनुरोध गरेका थिए । सो अबसरमा बोल्दै उपन्यासकार प्रियासनले अबको पाँच वर्षभित्रमा नेपालकै पहिलो धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने उद्घोष गर्नुभएको थियो । कार्यक्रममा पुस्तकका बारेमा लेखक सबिन प्रियासनले प्रकाश पार्नुभएको थियो भने विशिस्ट अतिथि पदम प्रसाद शर्मा, पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष डा.सुदिप गौतम लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो । परिषद्का सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।