कमला घिमिरे अधिकारी
आकाशका जून तारा धरतीका फूल
चिर्विर गर्ने गौँथली र माहुरीका हुल
सँगै गाऔँ, सँगै नाचौँ यो मनले भन्छ
जम्मा भई एकै ठाउँ साथी बन्न मन छ ।
मुस्कुरायो लालीगुराँस ढकमक्क डाली
नवरङ्गी डाँफे नाच्छ मीठो भाका हाली
पङ्ख फिँजाई मयूरले हेर जादु भन्छ
पंक्षी जस्तै उड्न अनि साथी बन्न मन छ ।
कुहुकुहु, काफल पाक्यो कोइलीको गीत
छङ्छङ् गर्दै छहराले लगाउँछ मीत
वर्षापछि क्षीतिजको इन्द्रधनुष भन्छ
अलि नजिक आऔँ, हामी साथी बन्न मन छ ।
हिमालमा हिउँ टल्क्यो तराइमा अन्न
को सक्दछ ? नागवेली नदीनाला गन्न
हिमाल तराई जोडेको छु पहाडले भन्छ
यै माटोका सन्तान हामी साथी बन्न मन छ ।
सामाखुशी, काठमाडौँ।