अमर अधिकारी।काठमाडौँ

२५ वर्ष लामो शिक्षण पेशा गर्नुभएकी स्रष्टा रीता बलामीको बालकवितासंग्रह ’बालमञ्जरी’ को शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा भव्य समारोहका बीच लोकार्पण गरिएको छ। रातोघर फाउन्डेशन कार्डिनल इन्टरनेशनल बोर्डिङ हाइस्कुलको आयोजनामा भएको सो कार्यक्रमको शुरुमा स्रष्टा बलामीको रचनाको ‘नकुटन मलाई सानासाना हातमा …..’ बोलको गीतको भिडियो प्रदर्शन गरिएको थियो। प्रमुख अतिथि डा. कृष्णहरि बराल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार लक्ष्मी मालीले गर्नुभएको थियो। कार्यक्रम संचालन दिपक लामिछानेले गर्नुभएको उक्त लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य रमेश केसीले दिनुभएको थियो भने बालमञ्जरीको समीक्षा बालसाहित्यकार प्रमोद प्रधानले गर्नुभएको थियो।

बालमञ्जरीमा बालबालिकाका लागि अति नै उपयोगी हुनेखालका कविताहरु रहेको बताउँदै कृतिकारको प्रसंशा गर्नुभएको थियो। साथै प्रधानले अभिभावकहरुलाई विभिन्न सुझाव दिँदै भन्नुभयो- “बालबालिकाहरुलाई पहिलेको जस्तो उपदेशात्मक आदेश दिनुहुदैन, स्वतन्त्र रहन दिनुपर्छ, जसले उनीहरुको शारीरिक र मानसिक विकास हुँदैजान्छ। अभिभावक वा शिक्षकले उहिलेको जमाना झै बालबालिकाहरुलाई हिर्काउनुहुँदैन। अहिले त उजुरी लाग्छ, जमाना पहिलेको जस्तो छैन धेरै परिवर्तन भएको छ। मनोविज्ञानमा सकारात्मकताको वृद्धि बालबालिकाहरुको आनीबानी नहेरिकन भयो भने त्यो सफल हुदैन। उनीहरुलाई चकचक गर्न दिनुपर्छ। अभिभावक आफू मोबाइलमा व्यस्त हुने अनि बालबालिकालाई नचलाऊ भन्ने? यसलाई भनिन्छ अभिभावकको दोष। उहिले जमानामा डिग्री गरेकाहरुको शिक्षा सम्बन्धी सोच परिमार्जित र अद्यावधिक छैन।” उहाँले थप्नुभयो- “साहित्यमा अझ बढी बालसाहित्यलाई जोडदिनु उपयुक्त हुन्छ। बालरचनामा लयको आवश्यकता पर्छ। बालबालिकालाई लयबाट नै साहित्यिक संस्कार दिनुपर्छ। आफ्ना बालबालिकालाई उपदेशमा मात्र सीमित राख्नुहुँदैन। तयारी खाद्यवस्तु अर्थात् जंकफुड खुवाउनु नकारात्मक पक्ष हो। कविता रचना गर्दा शिशुका लागि र बालबालिकाका लागि अनि किशोरकिशोरीका लागि अलग अलग ढंगले रचना गर्नुपर्दछ।” विद्यालयको प्रधानाध्यापक र सहायक प्रधानाध्यापक समेतको अनुभव बटुल्नुभएकी बलामीको उक्त बालकवितासङ्ग्रका साथै उहाँकै अर्को कृति ’आभासपुञ्ज’ गजलसङ्ग्रहको पनि सोही समारोहमा लोकार्पण गरिएको थियो।

दक्षिणकाली नगरपालिकाकी कार्यवाहक मेयर बसन्ती डंगोल तामाङले साहित्य र कलाको उन्नयनका विषयमा आफ्नो मन्तव्य दिनुभएको थियो। समारोहमा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर तथा कवयित्री अनिता लामाको समेत उपस्थिति रहेको थियो। त्यस्तै समारोहमा साहित्यकारहरू स्नेह सायमी, भीष्म उप्रेती, ललिजन रावल, राजेन्द्र प्रसाद अधिकारी, राजेन्द्र सलभ, दिव्य गिरी, कार्तिकेय घिमिरे, दुर्गा प्रसाद घिमिरे, सन्तोष कुमार भुजेल, भानुप्रकास जोशी, रामगोपाल आसुतोष, रिता खत्री, अरुण नदी खत्री, त्रिचन्द्र श्रेष्ठ, सानुराजा अञ्जान लगायत तमाम साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो भने अनलाइन बालपत्रिका ‘बालसंस्कार डटकम’ का सम्पादक अमर कीर्तिमानी लगायत अन्य सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *