डा.केबि पौडेल

एक समयको कुरा हो, दुईजना मिल्ने साना फुच्चे भाइहरु “जङगलतिर जाऔँ, केही कन्दमुल पाइएछ भने खाउँला, नत्र घुमेर आउँला” भनेर घरबाट निस्केछन्। जादै गर्दा अलि पर पुगेपछि जङ्गल भेटियो। जहाँ घाँस र रुखको बिचमा केही कुराकानी भैरहेको सुनियो। नजिकै रहेको अजङ्गको ठुलो न ठुलो रुख आकासतिर फैलिएको थियो, घाँस भने जमिनमा धस्किएको अथवा भुइमै टाँसिएको थियो। त्यतिकैमा उचाइमा रहेको रुखले जमिनतिर फर्केर घाँसलाइ हाँस्दै भन्यो- “तिमिलाई देखेर मलाई त हाँसो लाग्छ, दया लाग्छ भन्या !” घाँसले रुखलाई सोध्यो- “किन हजुर मलाई किन जिस्काइरहनुभएको? अनि मलाई देखेर किन हाँसो अनि दया लागेको?” रुखले भन्यो- “कुरो बडो गज्जव छ भन्या, तिम्रो र मेरो जात एउटै, तिमी पनि वनस्पति म पनि वनस्पति। तर म भने आकाशको विराटतालाई ओगट्ने वनस्पति, तिमी भने ती किरा फट्याङ्ग्राको बिचमा लत्पतिएको, कहिल्यै पनि उठ्न नसकिने गरि टाँसिएको वनस्पति। अझ भन्ने हो भने त मान्छे आएर कुल्चिन्छन्, कुकुर समेत आएर पिसाब गर्दिन्छन्, यो हेरेर झनै मलाई त दया लाग्छ।


कहाँ तिमी अनि कहाँ म? तर दुर्भाग्य हामी दुइटैको जात एउटै परेछ। तिमी र म एउटै बर्गमा परेकाले भगवानसँग कहिलेकाही त मलाई रिस पनि उठ्छ।” त्यसपछि घाँस नाजवाफ भयो। कुरा पनि ठीकै थियो, किनकि दुबै वनस्पति नै परे, रुखलाई मान्छेले सितिमिति कुल्चन पनि सक्दैन, तर घाँसलाइ त सबैले कुल्चिन्छन् नै। माथि रुखले जे जे भन्यो सबै भएकै हुन्छन्, कुरा यति मात्रै हो उसले जसरी घाँसलाई खिल्ली उडायो, मजाक बनायो र जिस्कायो त्यसैले चोट लागेको हो। तर पनि घाँसले गर्नै पो के सक्थ्यो र?

त्यसैले घाँस चुपचाप आफ्नो ठाँउमा बस्यो अनि चुपचाप आफ्नो ठाउँमा बस्नुलाई यो निरीह, यो लाचार अथवा यो खत्तम छ भन्ने बुझाइ रुखको भयो। आफूलाइ शक्तिशाली ठान्यो र “सितिमिति मलाई कसैले केहि गर्नसक्दैन” भन्ने बुझाई रुखको भयो। अनि त्यही बुझाईको कारणले गर्दा घाँसलाई उडायो, तर एकैछिनपछि आकास मडारिएर ठूलै हुरीबतास र पानि आयो। त्यो ठूलो हुरीमा अजङ्गको रुख पनि गर्ल्यामगुर्लुम्म ढल्यो। आखिर कहाँ ढल्यो त भने त्यही घाँसमाथि। जसलाई रुखले उडाइरहेको थियो, होच्याइरहेको थियो अनि त्यहि घाँसमाथि आएर ढल्नुपर्‍यो। त्यसपछि हाँस्ने पालो घाँसको आयो। घाँस हाँसेको देखेर रुखको पीडाको पराकाष्ठा हुन्छ। त्यतिकैमा घाँसले भन्यो- “रुख दाइ हजुरलाइ आफ्नो बलमाथि साह्रै घमण्ड थियो हैन त?  हजुरले जहिले पनि हामीलाई उडाउनुहुन्थ्यो हैन र?  हजुर त साह्रै शक्तिशालि ! आकासलाइ ओगटेको अरे, आज तुफान आउदाखेरी त्यो हजुरको बल तुफानसँग सामना गर्नसकेन त ! अन्ततः हाम्रै शरणमा आउनुभयो त ! तर हामीलाइ हेर्नुस् त, हामीलाई त्यो तुफानले त केही पनि गर्नसकेन। हामि त जमिनमा टाँसिएर बसेका छौँ। अब भन्नुस् रुख दाइ ! तपाईँ बलियो कि हामी बलियो? यदि तपाई बलियो भएको भए किन ढल्नुभयो? यदि हामी कमजोर भएको भए तपाईले हामीलाई जिन्दगीभर गिज्याइरहनुभएको थियो। हामी साच्चिकै कमजोर भइदिएको भए त्यो तुफानले जहाँ तपाई जस्तालाई ढाल्दियो हामी जस्तालाई छुन पनि सकेन।”
घाँस र रुख बीचको सवांद सुनिसकेपछि ती दुइजना फुच्चे भाइहरु “आज जीवनको असाध्यै महत्त्वपूर्ण पाठ सिक्ने अवसर पाइयो, जुन कुरा हाम्रो जीवनमा पनि ठ्याक्कै मिल्नेरहेछ। हामी जस्ता बालबच्चादेखि सबै उमेर समुहका लागि यो ठूलो पाठ हो। आफू ठुलो देखिने बहानामा अरुलाई गिज्याउन र होच्याउन तल्लिन हुने हाम्रो जस्तो नकारात्मक समाजमा हामी जस्ता भविष्यका कर्णधारलाई यस किसिमका कथाहरुबाट बुझाउने हो भने जीवनलाई जिवन्त तुल्याउने छ” भन्दै गफैगफमा आफ्नो घरतिर लागे।

महालक्ष्मी न.पा. २ धनकुटा, हाल: हिरोसिमा, जापान

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *