रमेश कुमार श्रेष्ठ। चितवन
आज एक समारोहका बीच चितवनको माडी नगरपालिका वार्ड नं. १ पाण्डवनगरमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्रालाई भरतपुर महानगरपालिका वार्ड नं. ४ पिपलचोकस्थित सनराइज इङ्गलिस स्कुलका विद्यार्थीहरुले स्टेसनरी सामान वितरण गरेका छन्। पाण्डवनगरका ८० जना छात्रछात्रालाई कापी, कलमलगायतका स्टेसनरी सामान हस्तान्तरण गरेको छ। उक्त कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका सदस्यहरु, स्थानीय अभिभावकहरु पनि उपस्थित रहेका थिए।

सनराइज इन्टर्याक्ट क्लबको संयोजनमा गरिएको उक्त कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष लोकेन कार्कीले गरेका थिए भने प्रमुख अतिथि माडी नगरपालिका वार्ड नं. १ का वडाध्यक्ष अमित कुमार लामा रहेका थिए । सनराइज इङ्गलिस स्कुलका शिक्षक रामकृष्ण लामिछानेले चलाएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलबहादुर नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सनराइज इङ्गलिस स्कुलका +२ संयोजक जीवलाल चालिसे, पाण्डवनगरका शिक्षक भविश्वर शर्माले पनि मन्तव्य राख्नुभएको थियो। छोटो औपचारिक कार्यक्रमपछि बालबालिकाहरुका बीचमा रमाइलोका लागि खुल्ला हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो।
त्यसपछि हरेक विद्यार्थीलाई स्टेसनरी सामान वितरण गरियो। यसरी स्टेसनरी सामान पाउँदा उक्त विद्यालयका ससाना बाबुनानी निकै खुसी देखिएका थिए। एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आफूले खाजा खर्च कटौती गरेर अर्को विद्यालयका विद्यार्थीलाई सहयोग गर्न पाउँदा सनराइजका विद्यार्थीहरु निकै खुसी देखिन्थे। यस्तो खालको उदाहरणीय कार्यहरु देशका अन्य क्षेत्रहरुमा पनि भैदिए न्यून आय भएका अभिभावकका सन्तानहरुलाई केही राहत महसुस हुने कुरामा दुईमत छैन। यसरी सानै उमेरमा उनीहरुले समाजप्रति सानो भए पनि दायित्व निर्वाह गरेर आफ्नो विद्यालयतर्फ फर्किए।