अरुण कुमार भुजेल,
फूल जस्तै फुल्नु तिमी सुगन्ध छर्दै डुल्नु
हुरी बतास खडेरीको प्रहार सबै भुल्नु।
सूर्य जस्तै तेज बन्नु चन्द्रमा जस्तै शीतल
तिमीसँग भेटघाट बनोस् हरेक क्षण र पल।
रुन राम्रो हुन्न नानी सधैँभरि हाँस्नु
सकेसम्म सबैसँग माया सद्भाव गाँस्नु।
सबले सधैँ भनोस् आहा नगरोस् कोही डाह
नित्य सबैको प्यारी बन्ने मनमा रहोस् चाह।
आज्ञाकारी बन्नु सानी सबैले भनून् ज्ञानी
सम्झुन सधैँ तिमीलाई आफ्नै आँखाको नानी।
दार्जिलिङ, भारत।