अभिभावकले आफ्ना बालबालिकाहरुलाई सही संस्कार दिनसक्यो भने उनीहरुको पढाइ लेखाइ पनि उत्कृष्ट हुँदैजान्छ। त्यसैले सबैभन्दा पहिले घर परिवार आदर्श बन्नु जरुरी छ। जसका कारण भविष्यका कर्णधार भनिने विद्यार्थीहरुको भावि सफलता मिल्छ। सर्टिफिकेट मात्र ठूलो होइन मानवीय गुणहरुलाई ठूलो सम्झिनुपर्छ।-प्रा.डा. सुमन सुवेदी भट्टराई

नेपालको शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने व्यक्तित्वहरुसँगको कुराकानी गर्ने क्रममा हामीले विभिन्न विज्ञहरूसँग कुराकानी गर्ने गर्दैछौँ । यसैक्रममा यसपटक २०३४ देखि २०७७ सालसम्म त्रिचन्द्र कलेजमा लामो समय प्राध्यापन पेशा गरेर अवकाश प्राप्त प्रा.डा. सुमन सुवेदी भट्टराईसँगका बालसंस्कारका निम्ति सम्पादक अमर कीर्तिमानीले  कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सम्पादक कीर्तिमानीले गर्नुभएको अन्तरङ्ग कुराकानीको सार अंश ।

यहाँको जन्म कति सालमा भएको हो?

मेरो जन्म २०१५ साल जेठ महिनामा भएको हो।

जन्म स्थान कहाँ हो नि?

डिल्लीबजारमा।

बाल्यकालमा बोलाउने नाम र न्वारनको नाम बारे बताइदिनुहुन्छ कि?

मेरो न्वारनको नाम कोमल र बाल्यकालमा बोलाउने नाम ठूलीबेबी हो।

न्वारनको नाम र बोलाउने नाम बाहेक खास नाम सुमन कसरी रहन गयो त?

तीन दाजुहरु सुरेन्द्र, महेन्द्र र नरेन्द्रको शुरुका अक्षर जुटाएर बुवाले मेरो नाम सुमन राखिदिनुभएको हो।

त्यो जमानामा पढ्दा विद्यालयमा डेस्क-बेन्चको व्यवस्था थियो?

त्यसबखत काठमाडौँका धेरै विद्यालयमा त्यस्तो सुविधा थिएन, हाम्रो विद्यालयमा भने डेस्क-बेञ्चको व्यवस्था थियो।

कपी-कलमको प्रचलन आइसकेको थियो?

हाम्रोपाला भन्दा धेरै अघिदेखि नै मसी भरेर लेख्ने कलमको प्रचलन शुरु भैसकेको थियो। हामी शुरुशुरुमा फ्लेम पेनले लेख्देगर्थ्यौँ। चाइनिज पेनभन्दा फ्लेम पेन सस्तो पनि थियो।

विद्यालय र कलेजमा पढाई शुल्क कति कति तिर्नुभयो?

विद्यालयको पढाइ शुल्क याद भएन। सरकारी कलेज त्रिचन्द्र कलेजमा मासिक पढाइ शुल्क आठ रुपियाँ हुँदा प्राइभेटको रुपमा रहेको अमृत क्याम्पसमा भने बीस रुपियाँ थियो।

कुन कुन विद्यालय र क्याम्पसमा अध्ययन गर्नुभयो?

डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा तीन कक्षामा भर्ना नभइकन पढ्नथालेको र चार पाँचमा पढ्दा मात्र भर्ना भएको थिएँ। साथै अस्कल भनेर परिचित अमृत साइन्स क्याम्पसमा उच्चशिक्षा अध्ययन गरेको हूँ।

बाल्यकालमा खेलिने खेलहरु के के थिए याद होला नि?

हामी बाल्यकालमा घ्वाइपासा, डोरी नाघ्ने, गट्टा खेल धेरै खेल्थ्यौँ।

विद्यालयमा पढ्दा नविर्सिने घटना केही छ?

मेरो सानैदेखि जित्ने बानी थियो, कक्षामा सधै उत्कृष्ट हुने प्रयास गर्दथेँ। पढाइ कसैले मलाई उछिन्न खोजेमा नरमाइलो लाग्दथ्यो। सबैले मलाई माया नै गरोस् भन्ने चाहना राख्दथेँ।

अध्ययनको सिलसिलामा अप्ठेरो अवस्था आइपरेको थियो कि थिएन?

खासै त्यस्तो अप्ठेरो अवस्था त आएन। परीक्षा आउनथाल्यो भने मुटुको ढुकढुकी बढ्ने र त्रास जस्तो आभास मिल्दथ्यो।

विवाह कहिले र कुन किसिमको थियो?

२०४१ साल माघमा पहिलो रोल्पाली चिकित्सक डा. बालकृष्ण सुवेदीसँग मागी विवाह भएको थियो।

वैदेशिक अध्ययनको विषय र मुलुक अनि श्रेणीका बारेमा बताइदिनुहुन्छ कि?

सन् १९९३ मा नोराडको फेलोसिप अन्तर्गत नर्वेबाट मेनेजमेन्ट अफ एग्रिकल्चर डेपलपमेन्ट विषयमा विद्यावारिधि, १९९६ मा डेनमार्कबाट फरेष्ट्री इन डेभलिपमेन्ट कन्ट्रिजमा विद्यावारिधि, १९९६-९७ मा अमेरिका अनुसन्धान प्रकृया र विकास विषयमा एमफिल, १९९८ देखि २००२ मा अष्ट्रियाको भियनाबाट विद्यावारिधि, २००४ देखि २००५ मा अमेरिकाबाट इन्भाइरोन्मेन्टल लिडरसिप विषयमा पोस्ट पिएचडी गरेको हूँ। २००३ मा स्वीडेनबाट रिमोट सेन्सिङ (स्याटालाइट इमेजिङ) मा स्नातकोत्तर गरेको थिएँ। २००६ मा पद्मकन्या क्याम्पसबाट वुमेन स्टडिजमा पोस्ट ग्रेजुएट गरेको थिएँ। त्यस्तै भारतको इन्दिरा गान्धी विश्वविद्यालयबाट एमबिए र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा सनातकोत्तर गरेको थिएँ।

वैद्शिक भ्रमण कुन कुन मुलुक?

वैदेशिक भ्रमण खागरि अध्ययनकै सिलसिलामा भएको थियो पटकपटक गरी तालिम सेमिनारहरुमा पनि विदेश जानेगरेको थिएँ। त्यसै क्रममा मैले नर्वे डेनमार्क स्वीजरल्याण्ड पोल्याण्ड बेल्जियम संयुक्त राज्य अमेरिका चीन श्रीलंका जर्मनी भिएतनाम लक्जेम्बर्ग नेदरल्याण्ड थाइल्याण्ड र पाकिस्तानको भ्रमण गरिसकेको छु।

दम्पत्ति नै सरकारी सेवामा रहँदा छोराछोरीको पढाईमा बाधा परेन?

परेन। पारिवारिक सपोर्ट पनि थियो र सहयोगीहरुले समेत वातावरण मिलेको थियो। छोराछोरीको पढाइमा कुनै किसिमको बाधा परेन।

आफ्ना शिष्यहरु कतिजना उच्च ओहोदामा पुगे?

”थुप्रै पुगे, खुशी लाग्छ”। केलाउदै जाने हो भने मैले पढाएका विद्यार्थीहरु उच्च ओहोदामा पुगेका धेरै छन् र मलाई खुशी नै लाग्छ। कसैकसैले मात्र बेलाबेलामा सम्पर्क गर्नेगर्छन्।

तपाईँले पढाएका विद्यार्थीहरुमध्ये को को नेता र मन्त्री पनि भए?

मेरो जानकारीमा आए अनुसार गगन थापा मैले पढाएका विद्यार्थी हुन्, गगन जस्तै अरु पनि हुनसक्छन्, मेरो जानकारीमा नआएको हुनसक्छ।

वनस्पति शास्त्र पढेकोमा गौरव लाग्छ कि लाग्दैन?

गौरब नलाग्ने त कुरै छैन नि ! प्रकृतिसँग घुलमिल हुनपाउनु र सो सम्बन्धी जानकारी तथा शिक्षा हासिल गर्नपाउनु र अध्यापन गर्न पाउनु सामान्य कुरा ठान्दिनँ। पछिल्लो समय जलवायु परिवर्तनका कारण विश्व नै संकटमा पर्ने सम्भावना देखिएको छ। त्यसैले बिग्रँदो जलवायुप्रति चिन्ता लिनु र समस्या समाधानतर्फ चासो लिएर अगाडि बढ्नु जरुरी देखिन्छ।

स्नातकोत्तर पूरा गर्ने क्रममा गाउका विद्यालयमा रा.वि.से. भएर कुन जिल्लामा जानुभयो र त्यहाँको सम्झना के के छन्?

म राविसे भएर गएको जिल्ला मकवनपुर हो। मकवानपुरको ज्यामिरेस्थित महेन्द्र किरण माध्यमिक विद्यालयमा मैले राष्ट्रिय विकास सेवाको अवधि पूरा गरेँ। राजधानी काठमाडौँको नजिक भए पनि ज्यादै पछाडि परेको रहेछ सो गाउँ। त्यस विद्यालयमा मैले पढाएका केही विद्यार्थीले अहिले पनि मेरो सम्पर्कमा छन्। आफूले पढाएका विद्यार्थीले सम्झेर सम्पर्कमा आउँदा मलाई सन्तुष्टि मिलेको छ।

अवकाश जीवन कसरी बितिरहेको छ त?

उमेर ढल्केपछि अवकाश हुनु स्वभाविकै हो र निश्चित उमेर पूरा भएपछि अवकाश हुनुपर्ने नियम पनि छ। नातीनातिनीहरुसँग रमाउने काम भैरहेको छ। अध्ययन तथा लेखनका कार्यहरु गर्ने तथा भेटघाटका लागि आउने आफन्त तथा इष्टमित्रहरुसँग भलाकुसारी गर्दै समय बिताइरहेको छु।

हाम्रो बालसंस्कार डटकम मार्फत बालबालिका शिक्षक र अभिभावकहरुलाई महत्वपूर्ण सुझाव के दिन चाहनुहुन्छ?

हरेक बालबालिकाहरुमा शिक्षा, नैतिनकता, संस्कार, अनुशासनको ज्यादै खाँचो हुन्छ। ती कुराहरु पूरा गराउनलाई अभिभावक र शिक्षकको ठूलो भूमिका रहन्छ। प्रारम्भिक शिक्षा घरपरिवारबाटै शुरु हुन्छ अर्थात् अभिभावक नै पहिलो शिक्षक हुन् भन्नुमा फरक पर्दैन। अभिभावकले आफ्ना बालबालिकाहरुलाई सही संस्कार दिनसक्यो भने उनीहरुको पढाइ लेखाइ पनि उत्कृष्ट हुँदैजान्छ। त्यसैले सबैभन्दा पहिले घर परिवार आदर्श बन्नु जरुरी छ। जसका कारण भविष्यका कर्णधार भनिने विद्यार्थीहरुको भावि सफलता मिल्छ। सर्टिफिकेट मात्र ठूलो होइन मानवीय गुणहरुलाई ठूलो सम्झिनुपर्छ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *