गंगा बस्नेत
“बाबा ! हजुरले मलाई जहिले पनि जिउँदो देवीदेवताको दर्शन गराउँछु भन्नुहुन्छ । तर आजसम्म गराउनुभएको छैन ।” आफ्नो ९ वर्षीय छोराले आकाशलाई लाडे पल्टँदै भन्यो ।
“ए साँच्चि ! दर्शन गराउँछु भन्दाभन्दै भुसुक्कै बिर्सेछु ।” छोराको गुनासो सुनेपछि आकाशले दराजबाट एउटा एल्बम निकालेर पल्टाउन थाले ।
“उ: हेर त तिमीले दर्शन गर्न खोजेका जिउँदा देवीदेवताहरु । ”
आकाशले एल्बममा भएका फोटाहरु औँल्याउँदै भने ।
छोराले मुख बिगार्दै भन्यो, ” बाबा ! यहाँ त हाम्रो घरका हजुर, हजुरबुबा, काका, ममी, हजुरआमा, दिदी र अन्टीका फोटाहरु मात्रै छन् त ।”
आकाशले मुसुक्क हाँस्दै भने- ” बाबु ! वास्तवमा माता पिता नै जिउँदा देवता हुन् नि ।”