अनिता कोइराला

“आज त शनिबार। याहू… ! स्कुल जानु पनि पर्दैन आज त ! हजुरआमा! मिसले भनेको मेरो आइतबारको गृहकार्य ‘शनिबार हजुरआमासँगको यात्रा” भन्ने शीर्षकमा केही लेखेर ल्याउनू भन्नुभएको छ । खाना खाएर हजुर र म पार्कतिर घुम्न जाने ल !” शनिबारको दिन हजुरआमालाई लिएर नजिकैको पार्कमा घुम्न जाने योजना हिजै बनाइसकेको थियो मानसले । झन मिसले नै गृहकार्य नै दिएपछि मानसको खुट्टा भुइँमा थिएन। मानसका कुरा सुनेर हजुरआमाले हाँस्दै भन्नुभयो–“म बूढी मान्छेसँग पनि के रमाइलो लागेको होला यसलाई ? म थोत्री बूढीसँग पनि के विधि रमाउँछ यो जिरे ! मसँग पनि के घुम्न जानु, बरु आफ्नै बाआमासँग जाऊ न अलि पर है बाबु !“ हजुरआमाको मुखबाट यति मात्र के सुनेको थियो मानस त क्वाँ क्वाँ गरेर घरै उचालेर रुन पो थाल्यो । मानस त्यसरी रोएको देखेर हजुरआमाको मनमा भुइँचालो गयो । अनि खप्न नसकेर मानसलाई चपक्क समाउँदै छातीमा टाँसेर हजुरआमाले माया गर्दै भन्न थाल्नुभयो–”मेरो राजा ! नरोऊ, मैले त उसै जिस्किएर पो भनेकी त, म गइहाल्छु नि मेरो नातिसँग, बित्थामा मेरो राजाको मुटु कुँडुल्कियो ।“ हजुरआमाले पार्कमा जाने भनेपछि मानसका मुहारमा पुनः सूर्य उदायो। खाना खाएर हजुरआमा र नाति पार्कतिर खुशी हुँदै हिँडे । सानो सानो खाजाको पन्तुरो पनि हजुरआमाले सुटुक्क बोक्नुभएको छ । मानसले पनि हजुरआमालाई खोकी लाग्छ भनेर तातो पानीको सानो थर्मस पनि झुन्ड्याएको छ । हिँड्दाहिँड्दै बाटोमा एउटा दृश्य देखेर मानस छक्क पर्दै हजुरआमालाई सोध्नपुग्छ– “हजुरआमा! हजुरआमा!! त्यो सेतो छडी बोकेर हिँडेका मान्छे को हुन्, अनि किन त्यो सेतो छडीले बाटोमा टक् टक् पार्दै हिँडेका ?“ मानसको टाउको मुसार्दै हजुरआमाले लामो सास फेरेर भन्न थाल्नुभयो– “आँखामा विभिन्न कारणले समास्या भएको हुन्छ बाबु मान्छेहरूलाई। कसैले त फिटिक्कै आँखा देख्नसक्दैनन् नि। कसैले मधुरो मात्र देख्छन् । त्यसैले बाटो हिँड्दा यस्ता मान्छेहरूले सेतो छडीको प्रयोग गर्छन् ।“ मानस अझ छक्क पर्दै हजुरआमाको मुखमा हेरेर कौतूहलको भावले बोल्यो– “अनि हजुरआमा त्यो सेतो छडीले भुइँमा छोएपछि बाटो देखिन्छ त ?” हजुरआमा कम्मरमा हात राख्दै हाँस्नथाल्नुभयो । बाटोको छेउमा आउने जाने मान्छेलाई आराम गर्न भनेर बेन्चहरू राखिएको थियो । हजुरआमा नजिकैको एउटा बेन्चमा थचक्क बस्दै खुइय्य गरेर मानसलाई सेतो छडीको महिमा समझाउन लाग्नुभयो–“ सेतो छडी लिएर हिँड्ने मान्छेको ध्यान आफ्नो गन्तव्यमा मात्र हुन्छ बाबु । बाटोमा हिँड्दा नराम्रो बाटोलाई छोडेर राम्रो बाटोको खोजिमा हुन्छन् उनीहरु, आफ्नो मार्गभन्दा बाहिर उनीहरू जाँदैनन् । त्यसैले उनीहरू सजिलै डिँड्नसक्छन् । छडीले मार्गनिर्देशन गर्छ बाबु, सही बाटो देखाउँछ, छडीले मान्छेलाई भड्किन दिँदैन ।“ हजुरआमा बोल्दै हुनुहुन्थ्यो । बाटोमा उत्तिनैखेर दुईजना जवान युवाहरू विपरित दिशाबाट आउँदैथिए । दुवैका आँखा बाटोमा थिएनन् । दुबै मस्त थिए   आ-आफ्नो मोबाइलमा। बाटो अगाडिको खाल्टो पनि देख्न सकेनन् । यामानको बिजुलीको खम्बा पनि देख्नसकेनन् र नजिकैको पोलमा गएर नराम्रोसँग ठोक्किए, ड्याम्म आवाज आयो । दुवै एकअर्कोमा बजारिन पुगे । हेर्दाहेर्दै दुबैजना हुत्तिदैँ भुइँमा घोप्टो परेर लडे । मानसले गएर दुबै जनालाई उटाउन खोज्यो तर बेसोमती केटाहरू जुरुक्क उठेर एकआपसमा झगडा पो गर्न थाले। मानस वाल्ल परेर दुवैको झगडा सुन्दै थियो- “आँखा हेरेर हिँडन जान्दैनस् । भर्खरै किनेको मेरो मोबाइल फुटेको भए मैले तँलाई तोरीको फूल देखाउने थिएँ ।“ अर्को झन् सुरिएर बोल्दै थियो- “तेरो चैँ आँखा गोजीमा राखेर हिँडेको थिइस्, तेरोभन्दा महङ्गो मोबाइल त मेरो हो, मेरो मोबाइल फुटेको भए मैले तेरो टाउकोसाउको फुटाउने थिएँ, बुझिस् ।“ मानस छक्क पर्दै बोल्यो– “दादा ! ए दादा!! हजुरहरू पनि बरू सेतोछडी लिएर हिँड्नुस् न ! हजुरआमाले भनेको सेतोछडीले बाटो देखाउँछ रे, मान्छेहरू लड्दैनन् रे । सेतोछडीले राम्रो बाटो मात्र हेर्न सिकाउँछ रे !“ दुवै केटाहरू मानसको कुरा सुनेर बडो लज्जित हुँदै एकअर्कालाई हेरेर लाजले भुतुक्क भए । उनीहरुले मानसलाई प्रेमिल नजरले हेरेर केही बाचा गरे झैँ गरे– ‘बाबु हामीबाट गल्ती भयो । यो सबै बाटोमा मोबाइल हेरेर हिँड्दा भएको दुर्घटना हो, अबदेखि बाटोमा मोबाइल नहेर्ने बाच्चा गर्छौँ । तिमी यति सानो भएर पनि कति गहिरो कुरा गर्नसकेको? तिमीलाई यस्तो गम्भीर कुरा कसले सिकायो हँ बाबु ?“ दुवै जनाले मानसको टाउकोमा हात घुमाउँदै मानसको कपाल मुसारे । मानसले जवाफ दियो-“उ मेरो हजुरआमाले सिकाउनुभएको यी कुरा !” हजुरआमा वरै बसेर तीनै जनाका कुरा सुन्दै मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो ।

भिमान, सिन्धुली। हालः चन्द्रागिरि ५ काठमाडौँ

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *