सत्या अधिकारी
“ढुङगाको मूर्तिमा दूध चढाएर के धर्म कमाउनुहुन्छ? बरु दुःख पाउनेलाई दिनुस् न ! धर्म मिल्छ!!” कसैको आवाज आयो। सोमबार बिहानै पशुपति दर्शन गर्न गएको थिएँ। दर्शनार्थीको लाइन देखेर मन अत्तालियो, लाइनको पछाडि गएर मिसिएँ। आँखा उहीँ आवाज आएतिरै मोडियो । हेर्दा, ऊ अन्दाजी १०/१२ वर्षको जस्तो देखिन्थ्यो, हातमा कुनै पुजा सामग्री थिएन। कतै पाकेटमारा त हैन? भनेर यो पापी मनले शङ्का गर्न पनि भ्यायो। छेउमै बस्ने दिदीको कानमा फुस्फुसाएँ, “पाकेटमारा हो कि क्या हो? लाइनबाट हटाउनुपर्यो।” मेरो जिज्ञासा मेटाउदै उनी बोलिन्, “होइन बैनी, यो पकेट्मारा होइन, शिवभक्त हो । सोमबार सधैँ यसरी मन्दिर आउँछ । “लाइन सर्दैजाँदा उसको पूजा गर्ने पालो आयो। दुई हात जोडेर ऊ प्रार्थना गर्दै थियो । मन्दिरका पुजारीले हाँस्दै सोधे- “बाबु,! खाली हात वरदान माग्नहुदैन नि ! चढाउने केही छैन?” ऊ भावुक हुँदै बोल्यो- “भोले बाबालाई मैले पोहोर साल मलाई माया गर्ने मेरी आमा चढाएको छु त !” उसको कुराले मन अमिलो पार्दै पुजारीले भने- “मरेको आमा फर्केर आउदिनन् बाबु, नहुने कुरा भोले बाबासँग नमाग!” पुजारीको कुरा भुईँमा खस्न नपाउँदै मुसुमुसु हाँसेर उसले भन्यो- “भोलेबाबाको आशीर्वादले मैले खोजेजस्तै अर्की आमा ल्याकाछ्न् बाले, उनलाई फेरि नमाग है ! भनेर वरदान मागेको नि !”
लमजुङ। हालः सानेपा, ललितपुर