पारू अर्याल नेपाल
बेलुकीदेखि छोराले आमासँग खलबल गरिरहेको छ । भोलि उसले पढेको स्कुलले पिकनिक लाने योजना बनाएको रहेछ । मसँग भन्यो- “ममी म भोलि बिहानै चाडैं जानुपर्छ, छिटो उठाईदिनुस् है!” आमाले “हुन्छ छोरा!” भनिन् । “ममी, म यसरी पिकनिक जान लागेकोमा खुशी छु। पिकनिकमा साथीहरूसँगै बसेर मीठा मीठा परिकार खान पाईन्छ।” “हो छोरा, साथीहरूसँग बसेर रमाइलो कुराकानी गर्दै रमाउनु, मिलेर खेल्नु। अनि खानपिन गर्दा पनि आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र खानुपर्छ । अनि खाना नपाक्दासम्म तिमीहरूलाई शिक्षक, शिक्षिकाहरूले खेल खेलाउने, नाचगान गराउने साथै साहित्यिक रचनाहरू कथा, कविताको पनि प्रतियोगिता गराउनुहुनेछ। भाग लिनु, जसले गर्दा सबैका अगाडि आफ्नो प्रतीभा देखाउन सजिलो हुन्छ । यस्ता सबै कार्यक्रमहरूमा भाग लिनाले पछि आफूलाई जुनसुकै कार्यक्रममा पनि सहभागी गराउन सहयोग गर्छ । अनि चिया नास्ताको समयमा पनि आफ्नो भागमा परेका खानेकुरा खाने लिनु । आफुले नखाने चिज छ भने पहिल्यै बाँड्ने ठाउँमा राखिदिनुपर्छ । खानेकुराहरू पनि ठिक्क अड्कलेर मात्र लिनुपर्छ!” छोराको जवाफ दिए- “किन ममी, हामीले त अघाउन्जेल खानको लागि लिनुपर्यो नि। खाँदाखाँदै धेरै भईहाल्छ अनि फाल्नुपर्छ।” “छोरा यसरी धेरै खानेकुरा लिएर फाल्यो भने हेर त सडकमा खान नपाएर कति बालबच्चा भोकभोकै बस्न बाध्य छन् । यदि खानेकुरा बच्यो भने ती सडक बालबालिकालाई खान दिँदा धर्म हुन्छ।” छोराले स्वीकृतिको टाउको झुकायो।
भरतपुर, चितवन