भुर्रभुर्र चरी
डा. गार्गी शर्मा
उठ बाबा उज्यालो भो चरीले बोलायो
आगनमा खेल्न आऊ भन्दै चिर्विरायो
नुहाई धुवाई गरी चरीसँग खेल
भङ्गेरी तिम्रो साथी माया गरी हेर।
चरीलाई भोक लाग्यो चारो पनि देऊ
माथि केही रोटी छ कागलाई देऊ
ऊसँग पैसा हुन्न किन्न केही सक्दैन
सानो एउटा ज्यान छ खेतीपाती गर्दैन।
खान केही नपाए भोकभोकै मर्छ
हामी सबै मिलिजुली खान दिनैपर्छ
केही दिन नखोज्नेहरु सकलै गर्दै खाउन्
समाजमा बस्ने भए बाँडीचुँडी गरुन्।
भुर्रभुर्र उड्छ ऊ वरिपरि घुम्छ
चारा कतै छ कि भन्दै उफ्रीउफ्री खोज्छ
आफ्नो पेट भर्नलाई सबेरै पो उठ्छ
बिहानीको स्वच्छ हावा सबै प्रिय हुन्छ।
कति जाती भंगेरा परिश्रम धेर गर्ने
चारा कतै पाए एक्लै खादै नखाने
चिर्विर गर्दै साथीलाई आऊआऊ भन्ने
सबै मिलिजुली खान साह्रै खुशी हुने
